अर्थ / बाणिज्य

हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र

इकागज |
असोज १९, २०८० शुक्रबार १६:४० बजे

काठमाडौँ- हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । बिहीबार दुबईबाट नेपाल फर्किन विमानस्थल पुगेका उनीहरू अलपत्र परेका हुन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउन लागेका यात्रुहरू अलपत्र परेको २४ घण्टा पुग्न लागेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिए । 

उनका अनुसार विमानस्थलको फ्लाइट इन्फरमेसन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले भएको जानकारीपछि यात्रुहरू एयरलाइन्सको सेवाप्रति आक्रोशित बनेका छन् । उडान नम्बर एच नाइन ५६८ को जहाजको उडान तालिका पाँच पटक परिवर्तन भइसकेको उनले बताए । 


यात्रुलाई समस्या समाधान गर्नुपर्ने दुबईमा रहेका हिमालय एयरलाइन्सका कन्ट्री म्यानेजर विमानस्थलभित्रै लुकेर बसेको यात्रुहरूको गुनासो छ । काउन्टरमा एयरलाइन्सका कोही पनि प्रतिनिधि छैनन् ।  

यात्रुलाई जहाजमा प्राविधिक समस्या आएको जानकारी गराए पनि उनीहरूको व्यवस्थापनाप्रति एयरलाइन्स गम्भीर नबनेको यात्रु न्यौपानेले बताए । अब कहिले उडान हुन्छ भन्नेबारे अझै अन्यौल रहेको उनले बताए । उनका अनुसार विमानस्थलमै घण्टौँदेखि भोकभोकै यात्रु अलपत्र अवस्थामा उडानको पर्खाइमा छन् । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमअनुसार जहाजले उडान भर्न नसकेमा सम्बन्धित एयरलाइन्सले कम्पनीकै खर्चमा यात्रुलाई तारे होटलमा राख्नुपर्ने व्यवस्था छ । तर,  हिमालय एयरलाइन्सले भने विमानस्थलमै यात्रुलाई भोकभोकै अलपत्र पारेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिए । 

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जहाजमा देखिएको प्राविधिक समस्या परीक्षण गरिरहेको र यात्रुको अवस्थाबारे बुझ्ने काम भइरहेको जानकारी दिए । उनले यात्रुलाई जति सक्दो चाँडो नेपाल ल्याउने बताए । न्युजकारखाना
 


Author

थप समाचार
x