चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन
फाइल तस्बिर
काठमाडौँ- सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको हो । सुपथ मूल्य पसलको खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाडौँमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुभारम्भ गरे । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको मन्त्री रिजालले बताए ।
उनले बजारमा व्यावसायिक क्रियाकलापलाई स्वच्छ पारदर्शी एवं प्रतिष्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे । सरकारले अहिले संयुक्त बजार अनुगमनको कार्ययोजना तयार गरि निरन्तर बजार अनुगमन गरिरहेको उनले बताए । उनले अनुगमनका क्रममा उपभोक्ताको अधिकार र हितविपरीतको कार्य गर्नेलाई सरकारले निर्मम भएर कारबाही गर्ने प्रतिबद्धता जनाए ।
चाडवाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरणको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
उपत्यका बाहिर झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, मुस्ताङ लगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, तेल लगायतका खाद्य सामग्रीहरूमा छुट पाउने व्यवस्था समेत गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया