पोखरामा सरकारको सस्तो पसल
चिनी लिन आएका ग्राहक नुन मात्र किनेर फर्कँदै
नुन र चामलबाहेक अरु नपाइएकाे गुनासो
पोखरा- पोखरा पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पाेरेसनको प्रांगणमा पोखरा-७ घारीपाटनका टेकप्रसाद लामिछाने भुनभुनाउँदै थिए । सरकारले सहुलियतमा दिने सामान पुर्याउन नसकेको प्रति उनको आक्रोश थियो ।
‘यहाँ सरकारी सामान नुन, तेल, चिनी, चामल पाइन्छ भनेर आएको,’ उनले भने, ‘तर, नुन र चामल बाहेक अरु पाइएन । अब केही नकिनी घर जाने हो ।’ सरकारले सोझासाझा नागरिकलाई झुक्याउन नहुने उनको सुझाव छ ।
यस्तै, चिनी किन्न आएकी रोजी थकालीले नुन मात्र बोकेर फर्कनुपरेको बताइन् । ‘भनेको सामान पाइएन,’ उनले भनिन्, ‘खास चिनी लिन आएको नपाएपछि नुन मात्र किनेँ ।’ सुपथ मूल्यको पसलमा चर्चा गरेजस्तो सुविधा नरहेको उनको पनि गुनासो थियो । ‘प्रचारबाजी धेरै तर, भनेको सामान पाइँदैन,’ उनले भनिन् ।
दसैँतिहार सुरु हुन लाग्दा विगतमा पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पाेरेसनमा सर्वसाधारणको भीड लाग्थ्यो । सरकारले खुलाउने सुपथ मूल्य पसलबाट नुन, तेल, चिनी, चामललगायत खाद्यान्न खरिद गर्नेको लर्को हुन्थ्यो । तर, यो वर्ष त्यस्तो छैन । ग्राहक फाट्टफुट्टमात्र भेटिन्छन् । मुस्किलले पुगेकाहरू पनि खुसी छैनन् ।
टेकप्रसाद र रोजीले जस्तै धेरैले सुपथ मूल्य पसलबाट आवश्यक खाद्यान्न नपाएको गुनासो गरेका छन् । दसैँतिहार लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विगतका वर्षहरूमा झैं यो वर्ष पनि देशभर सहुलियत पसल सञ्चालन गरिरहेको छ । यस्ता सहुलियत पसल गत २१ असोजदेखि नेपालका ४३ जिल्लाका ९८ स्थानमा सञ्चालनमा आएका हुन् ।
गण्डकी प्रदेश राजधानी पोखरामा पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पाेरेसन र बिरौटास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा यस्ता प्रकृतिका पसल सञ्चालित छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले नुन र चामल मात्र बेचिरहेको छ । कर्पोरेसनले पर्याप्त मात्रामा खानेतेल पुर्याउन सकिरहेको छैन । साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रमुख बासुदेव उपाध्यायले चिनी काठमाडौँबाटै नआएको बताए । उनले सहुलियत पसलबाट चिनी बिक्री गर्न नसक्दा ग्राहकको संख्या न्यून रहेको बताए ।
उनले भने, ‘पोखरामा अहिले नुन, चामल र तोरीको तेल बाहेक अरु खाद्यान्न हामीसँग मौज्दात छैन । अरु बिक्री गर्न सकिएको छैन ।’ यहाँबाट दसैं अघि चिनी बिक्री गर्न नसक्ने स्पष्ट पारे ।
कार्यालयले अहिले नुन १८ रुपैयाँमा बिक्री गरेको छ । तोरीको तेल ३५० र प्रिमियम जिरा मसिनो चामल प्रतिबोरा २ हजार १६५ मा बिक्री गरिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लि. गण्डकी प्रदेशले आयोनुन प्रतिव्यक्ति ६ केजी र तोरीको तेल र चामल भने ग्राहकले मागबमोजिम खरिद गर्न सक्ने जनाएको छ ।
बिरौटास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले चामलमात्र बिक्री गरिरहेको छ । ‘हामीसँग अहिले स्टिम जिरा मसिना चामल छ । जसमा प्रतिकिलोमा ७ रुपैयाँ छुट छ,’ कम्पनीका नि. प्रमुख भगवान भण्डारीले भने, ‘यसअघि २५ किलोको बोराको २ हजार १५० थियो भने, छुटपछि १ हजार ९७५ रुपैयाँ पर्छ ।’ एक जनाले २ बोरा लैजान सक्ने उनले बताए । कम्पनीका लागि ५ सय क्विन्टल कोटा छुट्टाएको बताउँदै अपुग भए थप्न सकिने जनाए ।
कम्पनीबाट केही समय अघिसम्म गहुँ, बासमती, जिरालगायत खाद्यान्न बेच्ने गरे पनि चाडपर्वको समयमा उपलब्ध नभएको स्वीकार्छन् । ‘काठमाडौँमा सम्पूर्ण सामान पाइन्छ तर, पोखरामा अहिले छैन,’ उनले भने, ‘पोखराले खरिद गर्न त सक्छ तर जनशक्ति अभाव लगायत कारणले सकिएको छैन ।’ उद्योग मन्त्रालयका अनुसार यस वर्ष सहुलियत पसल सञ्चालनमा २ करोड ३२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । तर, उपभोक्ताले लाभ भने नगन्य मात्र पाउने देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया