अर्थ / बाणिज्य

मुलुकको अर्थतन्त्रको ढाड भाँचिएको अवस्थामा पनि सरकार गम्भीर भएन : पूर्व अर्थमन्त्री पौडेल

इकागज |
असोज २८, २०८० आइतबार १८:२७ बजे

बुटवल- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको ढाड भाँचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताएका छन् । देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको दाबी गरे ।

बुटवलमा आइतबार प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘मुलुकको अर्थतन्त्रलाई चानचुने उपचार गरेर होइन, मेजर अपरेसन गर्नुपर्ने अवस्था छ । सरकार अपरेसन त परै जाओस् सिटामोल समेत दिनका सकेका छैन । अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले काम गरेन ।’


‘कर्मचारीले ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था छ । निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न सकेको छैन । पेन्सन र सामाजिक सुरक्षा खुवाउनु आन्तरिक ऋण लिनुपर्ने अवस्थाले अर्थतन्त्र असाधारण अवस्थामा पुगेको छ सरकार गम्भीर हुनुपर्यो,’ उपाध्यक्ष पौडेलले थपे । मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा विपरीत राजनीति गरेको समेत पौडेलले दाबी गरे ।

‘राष्ट्रपति दलको नेताजस्तो बन्ने होइन,’ उपाध्यक्ष पौडेलले भने, ‘कुनै बेला अमुक दलको नेता हुनुहुन्थ्यो । अब त्यस्तो होइन । कुनै दलको पैरवी गर्ने होइन । कांग्रेसलाई भोट गरेको धन्यवाद ज्ञापन गर्ने, पार्टीका नेताको आन्तरिक विवाद मिलाउन फोन गर्ने होइन । आफ्नो मर्यादामा बस्नुपर्छ । अहिलेको बडादसैँले राष्ट्रपतिलाई सदबुद्धि दिउन् ।’ मान्छे मार्ने अपराधीलाई रिहाइ गर्ने राष्ट्रपतिले कुनै सोच विचार गर्न नसकेको पौडेलको भनाइ छ । कोशी प्रदेशमा सरकारले तमासा गरेको बताए ।

कोशी प्रदेश सरकारको लागि एमालेले कुनै खेल नखेकोलेको स्पष्ट पार्दै नेता पौडेलले मुख्यमन्त्री केदार कार्कीलाई सहयोग गरेर प्रदेशलाई संकटतर्फ जानबाट जोगाएको बताए । मुलुकमा धार्मिक सदभावमा खलल पुर्याउने र आपसी सम्बन्धलाई बिथोल्ने प्रयासहरू भइरहेको प्रति सबै सचेत बन्नुपर्ने अवस्था आएको नेता पौडेलको भनाइ छ । नेपालीहरूबीच लामो समयदेखिको धार्मिक एकता र सदभावलाई मान्दै पर्वहरू मनाउन सबैलाई आग्रह गरे ।


Author

थप समाचार
x