अर्थ / बाणिज्य

मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छ :  पूर्व अर्थमन्त्री पौडेल

इकागज |
असोज २९, २०८० सोमबार १८:१४ बजे

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पुगेको  बताएका छन् । रुपन्देही उद्योग संघको ४५ औँ साधारणसभा तथा २३ औँ अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्व अर्थमन्त्री पौडेलल आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको पनि बताए । उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर संकटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताए । अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको उनको भनाइ छ ।  


पूर्व अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि संसद्‍मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेको बताए । 

देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न सरकारले चासो नदिएको उनको भनाइ छ ।

नेता पौडेलले सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी, व्यवसायी सन्तुष्ट हुने अवस्था नरहेकोसमेत बताए । ‘सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको छ, उद्योगीका समस्या सुनेर समाधान गर्न सकेको छैन र उल्टै उद्योगी र व्यवसायीलाई त्रसित गर्ने काम गरेको छ’, उनको आरोप छ । 

नेता पौडेलले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुनेसमेत बताए । 
 


Author

थप समाचार
x