अर्थ / बाणिज्य

एनआरएनएको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ :अर्थमन्त्री महत

इकागज |
असोज ३०, २०८० मंगलबार १७:४७ बजे

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले गैर आवासीय नेपालीको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन्  । गैर आवासीय नेपाली संघ (एनआरएनएमा) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन्,’ उनले भने, ‘युवाहरूलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानै पर्छ । यहाँ अवसर छ, अरू देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुष्म चाहिन्छ ।’


अर्थमन्त्री डा. महतले नेपालमा हाइड्रोपावरले पनि राम्रो नेटवर्क बनाइसकेको बताए । ‘हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसक्यो,’ उनले भने, ‘अहिले निजी क्षेत्रबाट ३ सय मेगावट जलविद्युत उत्पादन भइरहेको छ । सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेका छन् । माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुँदैछ, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्दैछ । हामीले ऋण सहुलियत दरमा मागेका छौँ । आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्नेछ । यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौँ, अब यसमा गैर आवासीय नेपाली साथीहरू जोडिनुपर्छ ।’

इमान्दारपूर्वक काम गर्नेलाई प्रोत्साहन गर्ने प्लेटफर्म पनि एनआरएनए भएको उनको भनाइ छ । ‘नेपालमा धेरै नकरात्मक भावना फैलिएको छ, अब सकारात्मक भावना फैलाउ । नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ । यो देशमा केही हुन्न, यिनीहरूले केही गर्दैनन्, यिनीहरू बिगार्न मात्र आएका हुन् । खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ । सबै क्षेत्रमा राम्रा मान्छे पनि छन्,’ उनले भने, ‘सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहालौँ । जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौँ । सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो । तपाईंहरुले भन्नुभएको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म सन्देश पुग्छ ।’

उनले अगाडि भने, ‘व्यक्तिको इच्छा, क्षमता र योग्यता पूर्ति गर्न कुनै सीमाले राकिनु हुँदैन । पासपोर्ट दिएर देश छोड सरकारले भनेको होइन, यो व्यक्तिको स्वतन्त्रता हो । यो स्वतन्त्रता उपभोग गर्दै लाखौं नेपालीहरूले आफ्ना आकांक्षा पूर्ति गर्न मुलुक बाहिर गएका हुन् । तर के सधैं बाहिरै जानुपर्दैन, मलाई लाग्छ, गैरआवासीय नेपालीहरू फर्किनु हुन्छ । कतिपय युवास्थामै फर्किनु होला, कतिपय पाकै भएर फर्किनु होला । किनभने यहाँ अवसर छ, यो अवसर हामीले सुष्म दृष्टिले हेर्नुपर्छ ।’


Author

थप समाचार
x