दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही
दमौली- जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडाैँ जाने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिवाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको छ ।
दमौलीबाट काठमाडाैँ छुट्ने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरूको भाडा फिर्ता गराइएको छ ।
दमौलीबाट काठमाडौँसम्मको भाडा रु छ सय ५० रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले रु एक हजारसम्म लिने गरेको गुनासो आएको छ । विष्टले भने, 'दसैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ ।'
चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाडौँ जाने यात्रुहरूबाट रु एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया