उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन
फाइल तस्बिर
जाजरकोट- उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चीनतर्फ नाका खुल्ला गरिए पनि आवतजावत भने हुन सकेको छैन ।
आर्थिक गतिविधिहरू चालु गरेर जनजीवन सहज तुल्याउन चीन र नेपालतर्फको सीमा नाका खुल्ला गरिए पनि चिसोका कारण आवतजावत हुन नसकेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले जानकारी दिए । 'चिसो बढ्नै लाग्दा नाका खोल्ने सहमति भएको थियो,' उनले भने, 'सदरमुकाम दुनै गएर सीमा पास गराइ उपल्लो डोल्पामा आउँदा आउँदै सीमा क्षेत्रमा हिउँ परेको थियो । अहिले हिउँ र चिसोका कारण आवतजावत गर्न नसक्दा खुल्ला गरिएको सीमा नाकाबाट कुनै पनि फाइदा लिन सकिएको छैन ।'
सीमा क्षेत्र खुलाउन पहल गरेका उपल्लो डोल्पाका जनप्रतिनिधि तथा प्रदेश सभा सदस्य वीरबहादुर शाहीले सीमा खुल्ला गरे पनि लाभ लिन नसक्दा समस्या भएको बताए । उनले भने, 'चिसो र व्यापार केही नभएका कारण अहिले नाकामा कुनै गतिविधि हुन सकेको छैन ।'
प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले तीन महिने प्रगति विवरणमा सीमा खुलाउने विषयलाई समेटे पनि चिसोकै कारण समस्या आएको जानकारी दिँदै आफूहरूले यता प्रक्रिया पूरा गर्दा गर्दै ढिलो भएकाले चिसो बाधक बनेर आएको बताए । १४ नम्बरको क्याटो र १५ नम्बरको मरिम्ला नाका चीनसँग जोडिएको छ ।
तिब्बतको सिँगाचे डोङबा काउन्टीसँग जोडिएको छ । पाँच वर्षदेखि कोरोनाका कारण खुल्न नसकेको नाका निकै लामो प्रयासपछि खुले पनि सदुपयोग हुन नसकेको हो । उपल्लो डोल्पामा खाद्यान्नलगायत सामग्रीहरू ढुवानी गर्न गरिएको प्रयास चिसोका कारण फेरि रोकिएको छ ।
उपल्लो डोल्पामा तीन पालिका छन् । अब चिसोका कारण उपल्लो डोल्पावासीहरू तलतिर झर्ने समय सुरु भइसकेको छ । यहाँका विद्यालयहरू चिसोमा बन्द हुने गर्दछन् । अहिले अधिकांश सरकारी कर्मचारीसमेत उपल्लो डोल्पा पुगेका छैनन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया