अर्थ / बाणिज्य

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध नहटाएसम्म चिनीको समस्या समाधान गर्न कठिन

इकागज |
कात्तिक १४, २०८० मंगलबार २१:५९ बजे

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हन् ।

सचिव निरौलाले पछिल्लो समय नेपालमा चिनीको अभावका कारण विभिन्न समस्या आएको भन्दै सरकारले समस्या समाधानका लागि सक्दो प्रयास गरिरहेको जिकिर गरे । उनले दसैँका लागि चिनी उद्योग र विभिन्न उद्योगहरूमा रहेको स्टक चिनी बजारमा पठाएर गर्जो टरे पनि भारतले चिनी निर्यातमा प्रतिबन्ध नखोलेसम्म समस्या समाधान गर्न गम्भीर हुनुपर्ने अवस्था रहेको बताए ।


उनले चिनीमा समस्या आउनुको प्रमुख कारणहरूमा तेस्रो मुलुकबाट ल्याउनुपर्ने, भारतले प्रतिबन्ध लगाउनु, आन्तरिक उत्पादनले धान्ने अवस्था नभएको, मुलुकभित्रका चिनी उद्योगहरूलाई पूर्ण रूपमा चलाउनका लागि पर्याप्त कच्चा पदार्थको कमी रहेको बताए । उनले चिनी आयातको विद्यमान भन्सार महशुल ३० प्रतिशत, मूल्य अभिवृद्धिदर १३ प्रतिशत, कृषि शुल्क १.५ प्रतिशत हुँदा घरेलु मूल्यभन्दा नेपालमा आउँदा चिनी महँगो हुने गरेको बताए ।

सचिव निरौलाका अनुसार नेपालमा चिनीको वार्षिक उत्पादन १ लाख ४० हजारदेखि १ लाख ५० हजार मेट्रिक टनसम्म रहेको छ भने नेपालमा चिनीको वार्षिक माग २ लाख ८० हजारदेखि ३ लाख मेट्रिक टनसम्म रहेको छ । उनले नेपालको चिनी उत्पादन र उपभोगको अन्तर रहेको छ त्यसलाई अन्तरपूर्ति गर्न भन्सार बिन्दुबाट नेपालमा आयात भएको चिनीको परिणाम हेर्दा आर्थिक वर्ष २०७७/७८ मा २ लाख ८ हजार १४ मेट्रिक टन, २०७८/७९ मा १ लाख १५४५ मेट्रिक टन, आर्थिक वर्ष २०७९/८० मा ४० हजार ८ सय मेट्रिक टन र चालु आर्थिक वर्षमा शून्य रहेको बताए ।

पछिल्लो समय नेपालमा चिनीको आयात पनि घट्दो क्रममा रहेको भन्दै चालु आर्थिक वर्षमा भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएका कारण शून्य परिणाम रहेको उनकाे भनाइ छ ।


Author

थप समाचार
x