व्याजदर वृद्धिविरुद्ध आन्दोलनको चेतावनी
भक्तपुर - उद्योगी व्यवसायीहरुले बैंकले आफूखुशी जथाभावी बैंकको व्याजदर वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बैंकले आफूहरुसँंग कुनै सल्लाह नै नगरी मनोमानी ढंगले ब्याजदर वृद्धि गरेकोले आफूहरु आन्दोलनको तयारीमा रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरजकृष्ण वैद्यले बैंकहरुले नेपाल सरकार, नेपाल राष्ट बैंकलाई समेत वेवास्ता गरी जथाभाबी व्याजदर वृद्धि गरिरहेकोले आन्दोलनको तयारी थालेको सुनाए । हामी उद्योग बन्द गरेर आन्दोलन थाल्ने योजनामा छौं, उनले भने, सुरुमा काठमाडौंका ठूल्ठूला उद्योगहरु बन्द गर्न सुरु हुनेछन् ।
उनले महासंघको आन्दोलनलाई साथ दिन सबै उद्योगीव्यवसायीहरुसँंग अनुरोध गरे । सुरुमा काठमाडौंका ठूल्ठूला उद्योग व्यवसायीहरुले उद्योग बन्द गरेर विरोध हुन थालेपछि जिल्लास्तरमा पनि उद्योग बन्द गरेर सहयोग गर्न उनको अपिल थियो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बैकको व्याज तिर्न नसकेको भन्दै धितो लिलामी नगर्न बैंकहरुलाई चेतावनी दिए । बैंकले आफ्नो मात्रै नाफा हेरेर जथाभाबी व्याजदर वृद्धि गरेको आरोप उनको थियो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आन्तरिक तथा पर्यटकलाई चितवन घुम्न आउन आव्हान गरे । यही आव्हानलाई साकार रुप दिन भरतपुर भ्रमण वर्ष २०२४ गर्न लागेको जानकारी उनले गराए ।
कार्यक्रममा दुई संघबीच भाइचारा, समझदारी वृद्धि र सहयोग आदानप्रदानको लागि सहमति गरी हस्ताक्षर गरिएको थियो । समझदारीपत्रमा भक्तपुर शाखाकोतर्फबाट अध्यक्ष शिवप्रसाद मानन्धर र चितवन शाखाकोतर्फबाट अध्यक्ष चुननाारायण श्रेष्ठले हस्ताक्षर गरे ।
न्यूज एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया