अर्थ / बाणिज्य

आजदेखि ४६ सय मेट्रिक टन चिनी बजारमा

नेपालमा उत्पादन हुने ७० प्रतिशत चिनी उद्योगहरूमा आपूर्ति

इकागज |
कात्तिक १७, २०८० शुक्रबार ७:९ बजे

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सुरक्षा निकाय प्रमुख तथा वाणिज्य विभागका महानिर्देशकलगायतसँग छलफलपछि उद्योगहरूबाट बजारमा चिनी आउने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकहरूसँग अवैध ढंगले भित्रिएको तथा उद्योगहरूले बजारमा नपठाएको चिनी अनुगमन गर्ने विषयमा छलफल गरेका थिए । बिहीबार प्रधानमन्त्री प्रचण्डले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए ।


बैठकमा हाल अवैध ढंगले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा चिनी पठाइने गरेको सूचनाका आधारमा आवश्यक कारबाही गर्ने विषयमा छलफल भएको थियो ।

यसका साथै नेपाली चिनी उद्योगहरूले आम उपभोक्तालाई सहज हुने किसिमले बजारमा चिनी आपूर्ति गर्नुको साटो कतिपय ठूला उद्योगलाई चिनी आपूर्ति गर्न गोदाममा लुकाएको चिनी बजारमा ल्याउने विषयमा समेत छलफल भएको थियो । 

नेपालमा उत्पादन हुने ७० प्रतिशत चिनी उद्योगहरूमा आपूर्ति

वाणिज्य विभागको तथ्यांक अनुसार, नेपालमा उत्पादन हुने ७० प्रतिशत चिनी विभिन्‍न पेय पदार्थ, मिठाइ, चकलेट, विस्कुटलगायतका उद्योगहरूमा आपूर्ति हुने गर्दछ । वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले अब विस्तारै चिनीको अभाव हट्दै जाने बताए । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने बताए । 

बिहीबारको बैठकपछि नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको स्टक रेकर्ड चेक गर्ने तथा सो आधारमा बजारमा चिनी पठाउन उद्योगीहरूसँग छलफल गरिने बताइएको छ ।

आजदेखि ४६ सय मेट्रिक टन चिनी बजारमा पठाउने

हालसम्म ३ हजार मेट्रिक टन चिनी बजारमा पठाउने कुरा सुनिश्चित गरिएको छ । नेपाल साल्ट ट्रेडिङले उक्त चिनी खरिद गरी आज नै खुद्रा बजारमा पठाउने छ । साल्ट ट्रेडिङसँग यसअघि नै १६ सय मेट्रिक टन चिनी मौज्दात रहेको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरिएको थियो ।

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

चिनी उद्योगहरूको स्टक रेकर्डका आधारमा आम उपभोक्ताको मागलाई पूर्ति गर्न बजारमा चिनी पठाउन समन्वय गरिने र अनुगमनलाई समेत तीब्र पारिने भएको छ ।

हाल कतिपय पसलहरूले एक सय साठी रुपैयाँ खुद्रा मूल्य तोकेर चिनी बिक्री गरिरहेको सूचनासमेत प्राप्त भएपछि विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले उपत्यकाका सबै प्रहरी वृत्तलाई विशेष निर्देशन दिइसकेको छ ।

यसका साथै आजदेखि नै अवैध ढंगले भित्रिएको या गोदाममा थन्किएको चिनीको अनुगमन गर्ने बिहीबारको बैठकले निर्णय भएको छ । नेपाल प्रहरीले अवैध ढंगले चिनी लुकाएको सूचना भएमा प्रदान गर्न अपील गरेको छ । यसअघि दसैँ अगाडि सिर्जना भएको अभाव पूर्ति गर्नसमेत सरकारले पहल गर्दै ५ हजार मेट्रिक टन भन्दा बढी चिनी बजारमा ल्याएको थियो ।


Author

थप समाचार
x