अर्थ / बाणिज्य

तिहारको पखाईमा पुष्प व्यवसायी

भण्डारणको व्यवस्था नहुँदा लगानी डुब्ने चिन्ता

इकागज |
कात्तिक २०, २०८० सोमबार १८:२५ बजे

मकवानपुर- तिहार पर्व भन्नासाथ प्रायः सबैको मनमा झल्काे आइहाल्छ- ढकमक्क फूलेका सयपत्री, मखमलीलगायत विभिन्न प्रजातिका फूलहरूको । 

विशेष गरी हिन्दु समाजमा मनाइने दसैँ पर्व भर्खरै सकिएको छ । तर, संघारमै आइपुगेको छ तिहारको रमझम पनि । 'गाउँ पस्दा त घरघरै फूलहरू फूलेका देखिन्छन्, फूलहरूको मौसमले तिहार पर्वको स्वागत गरेजस्तो लाग्छ,' हेटौंडाकी सुनिता घिमिरेले भनिन्, 'चाडपर्वहरूमा गाउँ नै रमाइलो ।'


फूलहरूको पर्वको रूपमा चिनिने तिहार घर आँगनमा भित्रँदै गर्दा आँगनका डिल र बारीका कान्लाहरूमा मखमली र सयपत्री फूलहरू हाँसिरहेका छन् । सदाजसो नेताहरूको कार्यक्रममा मालाको व्यवस्थापनमा लाग्ने हेटौंडा ६ चौघडाका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंंलाई अहिले तिहारको व्यस्तताले पनि छोएको छ ।

तिहार पर्वको पर्याय जस्तै हुन् पुष्पमाला, सेलरोटी, दाजुभाइ र दिदीबहिनी । फूलको सुगन्धले सबैको मन तान्छ, सबैलाई आकर्षित गर्छ । तर, फूल जति आकर्षक छ, यसको व्यवसाय तेति सहज भने छैन, आकर्षक छैन ।

पुष्प व्यवसायी चौलागाईंं सबै क्षेत्रमा संघर्ष र चुनौती रहेको बताउँछन् । 'संघर्ष र रिस्क सबै क्षेत्रमा हुन्छ, फूलको व्यवसाय झन् रिस्की छ,' उनले भने, 'छोटो समयमा उपलब्धि लिन सकिने भए पनि भण्डारणलगायतको समस्या भएकाले लगानी डुब्ने चिन्ता पनि उस्तै हुन्छ ।'

चौलागाईंंले विगत ५ वर्षदेखि ५ कट्ठा जमिनमा फूल खेती गर्दै आएका छन् । यस वर्ष उनले २० हजार वटा मालाहरू उत्पादन गर्ने लक्ष्यका साथ ५ कट्ठा जमिनमा फूलखेती गरेका छन् । 

सुरु-सुरुका वर्षमा पुष्प व्यवसायबाट राम्रो आम्दानी लिएका चौलागाईं पछिल्ला वर्षहरूमा भने समयले साथ नदिएको बताउँछन् । 'कहिले कोरोनाको कारण त कहिले विभिन्न कारण औपचारिक कार्यक्रमहरू कम भएमा फूल खपत गर्नै समस्या हुन्छ,' चौलागाईंंले भने, 'कहिले माग राम्रो हुन्छ, तर मौसमले साथ दिँदैन ।' 

हेटौंडा १३ का युवा कृषि उद्यमी फेन्चु लामा रुम्बाले पनि आफ्नो ड्रागन फ्रूट खेतीमा भित्री बालीको रूपमा फूल खेती गरेका छन् । जाँगर र मेहनत गर्ने हो भने कृषिबाट पर्याप्त आम्दानी लिन सकिने लामा बताउँछन् । उनले विगतमा पनि ड्रागन फ्रूटको भित्री बालीको रूपमा फूल खेती गर्दै आएका हुन् ।

फूलको बिरुवा रोपेपछि तीन महिनामा आम्दानी दिन्छ । प्रतिफूलको बिरुवामा कम्तीमा एक सय वटा फूल फुल्यो भने राम्रो आम्दानी हुने चौलागाईंकाे भनाइ छ । हेटौंडा बजारमा हाल प्रतिमाला औसत ८० देखि १२० रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए ।

मकवानपुरमा पछिल्लो समय तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ । दशकअघिदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका मकवानपुरगढी गाउँपालिका वडा ६ का टीकाप्रसाद दाहालले पनि यस वर्ष तरकारी छाडेर फूल खेती नै गरेका छन् । 'तरकारीको मूल्य नै आउन छाड्यो केही त गर्नै पर्यो भनेर फूल रोपेँ,' ६ नम्बर वडाका पूर्व अध्यक्ष समेत रहेका दाहालले भने ।

ग्रामीण क्षेत्रमा स्थानीयहरूले आफ्नो खेतका आली, बारीका कान्ला र आँगनको डिलहरूमा तिहार लक्षित गरेर फूलको बिरुवा रोप्ने गरेका छन् । स्थानीयहरूले आफ्ना लागि निर्वाहमूखी रूपमा फूल रोप्ने गरेको भए पनि  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, १२, १३, १४ लगायतका वडाहरूमा झण्डै २५ बिगाहा जमिनमा फूल खेती भइरहेको छ । छाेटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको दाहाल बताउँछन् ।

सयपत्री फूलको सुगन्धले चाडपर्वको माहोललाई थप उल्लासमय बनाएको छ । बाह्रै महिना फुल्ने भए पनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ ।

पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटीकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ ।

यो फूलको अंग्रेजी नाम मेरीगोल्ड हो । नेपालमा कतैकतै यसलाई हजारी फूल पनि भनिन्छ । सयपत्री फूल धेरै प्रजातिको हुन्छ र यसको प्रयोग सृष्टीकाल शताब्दीदेखि नै भएको मानिन्छ ।

हाल हेटौंडामा मालाको माग सम्बोधन गर्न चौलागाईं आफैँले सर्लाहीबाट माला झिकाएर पनि बिक्री गर्ने गरेका छन् । सर्लाही जिल्लादेखि ल्याइएको मालालाई स्टोर गर्न उनले भण्डारण कक्षको समेत व्यवस्था गरेका छन् ।

जुन स्टोरमा १० हजार माला अटाउने १५ दिनसम्म राख्न सकिने चौलागाईंले बताए । उनी पूर्व लडाकू हुन्, तर पछिल्लो समय उनी कुनै पनि दलमा आबद्ध छैनन् । 'जहाँ निष्ठासहित बाँच्न सकिन्छ, त्यही बसौँ भनेर मैले कृषि रोजेँ,' चौलागाईं भन्छन् । उनले आफ्नो रोजाइ आज पनि हतियार नै भएको ठट्टाको शैलीमा भने, 'उबेला राजनीतिमा थिएँ, हतियार (बन्दुक) चलाउँथेँ, अहिले कृषिमा छु, यहाँ पनि हतियार (कुटो, कोदालो) नै चलाउँछु ।' हाल कुनै पनि दलमा आबद्ध नभएपछि सामाजिक कार्य र कृषि कर्ममा तल्लीन छन् उनी ।

पुष्प व्यवसायको काम उनी आफैँ र परिवारका सदस्यहरूको सहायतामा गर्छन्, नभ्याएको काम ज्यालामा लगाउँछन्, जसले अरुलाई समेत सानोतिनो खर्चको जोहो हुने गरेको छ । माला उने बापत प्रतिमालाको २ रुपैयाँ, फूल टिप्ने, तथा गोडमेल गरेको प्रतिघण्टाको सय रुपैयाँ ज्याला तोकिएको छ ।

६ वर्ष पहिले घाँस फुल्दै आएको भिरालो जग्गामा पछिल्लो ६ वर्षदेखि फूल खेल्ने गरेको छ । स्वरोजगार बन्नका लागि यो बलियो आधार भएको बताउँछन् उनी ।

तिहारमा फूलको मालाले घर सजाउने मौलिक परम्परा हराउँदै गएको छ । यसको स्थान झिलिमिली बत्ती र प्लास्टिक तथा कागजका मालाहरूले लिँदै आएका छन् । जुन वातावरणमैत्री समेत छैन । युवाहरूलाई स्वरोजगार बन्नतर्फ प्रेरित गर्ने हो भने यो व्यवसायले पनि एउटा विकल्प बन्न सक्छ, र यसले पनि देशको अर्थतन्त्रमा टेवा दिन सक्छ । युवालाई कृषिमा आकर्षण गरी टिकाउका लागि स्थानीय सरकारले कसरत गरिरहेको बताइरहेको छ, तर युवाहरूको आकर्षण अहिले पनि वैदेशिक रोजगार नै छ ।

कृषि प्रधान देशमा कृषिमा यान्त्रिकीकरण र विविधीकरणको खोजी अझै भएको छैन । स्थानीय तहले यसतर्फ ध्यान दिने हो भने नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सकिने उनकाे धारणा छ ।

बजारमा प्रतिबन्धित फूल ​छ्यापछ्याप्ती

नेपाल सरकारले पछिल्लो समय प्लाष्टिक प्रतिबन्ध लगाउँदै आएको छ । हेटौंडा बजारमा पनि विगत १ दशकदेखि प्लाष्टिक न्यूनीकरण अभियान जारी छ । तर, तिहारको संघारमा हेटौंडा बजारमा प्रतिबन्धित प्लाष्टिकका मालाहरू छ्यापछ्याप्ती बिक्री भइरहेकाे देख्न सकिन्छ । यसको नियमन तर्फ स्थानीय प्रशासन र स्थानीय सरकारले चासो दिएका छैनन् । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा ल्याउन सकेको छैन ।


Author

थप समाचार
x