सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिँदा राजश्वमा कमी आयो : अर्थमन्त्री महत
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिँदा राजश्व घटेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बौल्दै अर्थमन्त्री महतले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय गाडीमा कम कर लाग्ने र पछिल्लो समय विद्युतीय सवारीको आयात बढेकाले राजश्व बढ्न नसकेको बताएका हुन् ।
अर्थमन्त्री महतले राजश्वतर्फ सरकारले सोचेको जस्तो सफलता नभएकाले गत वर्षको सोही समयको तुलनामा ९.३३ प्रतिशतले राजश्व बढेको जिकिर गरे । उनले राजश्व संकलनको संरचना परिवर्तन आएको बताए । उनले विगतमा डिजेल र पेट्रोलमा आधारित सवारी साधनहरू मात्रै आउने गरेको र डिजेल र पेट्रोलमा आधारित सवारी साधनहरू आउँदा ३ सय प्रतिशतसम्म कर लाग्ने गरेको उल्लेख गरे ।
उनका अनुसार चालु आर्थिक वर्षदेखि सरकारले विद्युतीय सवारीलाई सरकारले प्रोत्साहन गरिरहेको र पछिल्लो समय आयात हुने सबै सवारी साधन विद्युतीय भएकाले राजश्वमा कमी आएको हाे । पछिल्लो समय सवारी साधनको अर्डर गर्ने सबै व्यवसायीहरूले पनि विद्युतीय सवारी साधन मात्रै माग गर्ने गरेको उनकाे भनाइ छ ।
मन्त्री महतले विद्युतीय सवारी साधनमा बढीमा ४५ प्रतिशत मात्रै कर लाग्ने गरेको बताए । तर, विद्युतीय सवारी साधन आयातमा अहिले धेरै जसो १५ प्रतिशतमा सीमित भएको अवस्था रहेको उनकाे भनाइ थियाे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया