अर्थ / बाणिज्य

'ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन भन्ने ?'

इकागज |
मंसिर ६, २०८० बुधबार २०:१५ बजे

फाइल फोटो

काठमाडौँ - अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् । 

बुधवार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताए । उनले ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन भन्ने प्रवृति गलत भएको बताए । 


उनले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरूलाई नीतिगत रुपमा राज्यले हेर्ने बताए । उनले बदमासी नगर्ने तथा व्यवसाय गर्दा गर्दै समस्या परेकाहरूको लागि राज्यले सहजीकरण गर्न तयार रहेको बताए । उनले पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताए । उनले कोभिड महामारी, भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताए । 

उनले नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको बताए । उनले सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्ने विश्वास रहेको बताए । उनले  बैंकहरुका धेरै ऋण प्रवाह भएकाले मानिसहरूले धेरै लगानी जग्गा, सेयर र क्रिप्टोमा पनि लगानी गरेकाले बजारमा केही समस्या रहेको बताए । 

उनले अफबाह बोल्दै हिड्नेहरुको मुख बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले लामो संघर्ष, मेहनत र योगदानबाट ल्याएको लोकतन्त्र व्यवस्था माथि आँच आउन दिन नहुने बताए । 

 


Author

थप समाचार
x