सेयर बजारमा फर्कियो हरियाली, दुई दिनको गिरावट एकैदिनमा पूर्ति
कारोबार ११ अर्ब माथि, एक अर्ब ३७ करोडमा पुनर्बीमा कम्पनीको सेयर किनबेच
काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचकमा दुई प्रतिशतले वृद्धि भएको छ । सरकारले बजेटमा अल्पकालीन लगानीकर्तालाई पुँजीगत लाभकर (७.५ प्रतिशत)बढी लाग्ने भएपछि बजारमा सट्टेबाजी गरेर कमाउने खेलमा प्रहार गरेको थियो ।
पछिल्ला दुई दिन (सोमबार र मंगलबार) नेप्से ५६ दशमलव ९३ अंकले गिरावट आयो । तर, यो गिरावट त्यसपछि टिक्न सकेन । दुई दिनको गिरावट एकैदिनमा पूर्ति भएको छ ।
बुधबार नेप्से ५५.७६ अंकले बढेर २८२७.१२ बिन्दुमा कायम भएको हो । बजेट भाषणको भोलिपल्टै १२.५४ अंकले बढेर नेप्से २८४७.३० बिन्दुमा पुगेको थियो ।
सबैभन्दा बढी विकास बैंक समूहको परिसूचकमा वृद्धि भएको छ । यो परिसूचक ६.१३ प्रतिशतले बढेको छ । म्यूचुअल फन्डबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएको छ ।
१३ कम्पनीका सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सानिमा माइ हाइड्रोपावर र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य ४६ रुपैयाँले घटेर पाँच सय छ रुपैयाँ कायम भएको छ । राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य दुई हजार एक सय ४४ रुपैयाँले बढेर २३ हजार पाँच सय ९४ रुपैयाँमा कारोबार भएको थियो ।
समग्रमा नेप्से परिसूचकमा वृद्धि देखिए पनि राधी जलविद्युत् कम्पनीको सेयर मूल्यमा भने उच्च गिरावट आएको छ । ७.२३ प्रतिशतले घटेर यो कम्पनीको मूल्य एक हजार दुई सय छ रुपैयाँमा झरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार उच्च देखिएको छ । यो कम्पनीको सेयर कारोबार एक अर्ब ३७ करोड रुपैयाँ बराबर भएको छ । पुनर्बीमा कम्पनीको सेयर मूल्य बढेर एक हजार सात सय ९० रुपैयाँ कायम भएको छ ।
बुधबार ११ अर्ब ३५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एक लाख १४ हजार दुई सय १६ पटकको कारोबारमा दुई करोड २६ लाख कित्ता सेयर किनबेच भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया