अर्थ / बाणिज्य

तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा कन्ट्र्याक्टरहरू काम छोडेर भाग्न थाले : कुलमान घिसिङ

इकागज |
मंसिर १५, २०८० शुक्रबार १४:२५ बजे

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन् ।​

बिहीबार ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने व्यक्ति कम हुँदै गएको जिकिर गरे ।


देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको घिसिङकाे भनाइ छ । उनले एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अपर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको उल्लेख गरे । उनले एक वर्षसम्म अनुमति नदिइ काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने बताए ।

यस्तै निर्देशक घिसिङले काठमाडौँ उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको पनि जिकिर गरेका छन् । उनले अण्डरग्राउण्ड गर्ने ठूलो योजना सडक विभागले सात महिना भइसक्दा समेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गरे ।

नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको उनकाे भनाइ थियाे । उनले सडक विभागले तार भूमिगत गर्न नदिँदा ठूला कन्ट्र्याक्टरहरू काम छोडेर भाग्ने अवस्थामा पुगेको पनि उल्लेख गरे । उनले 'मेरो क्षेत्राधिकार भित्र दिन्न' भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको बताए ।

निर्देशक घिसिङले समन्वयको कमीका कारण ठूला योजनाहरू बेवारिसको रूपमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे ।


Author

थप समाचार
x