चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर
इन्टरमोडल यातायात विकास समिति खारेज हुँदैन : कार्यकारी निर्देशक गजुरेल
फाइल तस्बिर
काठमाडौँ- चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको छ । सोमबार समिति र प्रा.लि.बीच पाँच वर्षका लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।
करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरे । हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १ सय ३० करोडभन्दा बढी आम्दानी गरिरहेको बताए ।
राठीले चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने बताए पनि कार्यालय खारेजी नहुने जिकिर गरे । उनले संस्था अझै बलियो भएर जाने र खारेजी भए पनि कुनै समस्या नपर्ने गरी व्यवस्थापन गर्नेतर्फ आफूहरूले सोचिरहेको बताए ।
उनका अनुसार चोभार सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको करिब २० महिनाको अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको छ । उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनका लागि दिँदा प्रभावकारी सञ्चालन एवं व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा तुलनात्मक रूपमा वृद्धि हुने अवस्था देखिएको उनले बताए ।
चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि बल्खु-दक्षिणकाली सडक खण्डको कीर्तिपुर स्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगढ-काठमाडौँ द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको बताए ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बोल्दै प्रबन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतीहरू रहे पनि त्यसलाई मध्यनजर गरी गृहकार्य सुरु गरिसकेको बताए । उनले आफूहरूले दिने सेवा स्तरीय बनाउन आफूहरूको प्रयास रहने उल्लेख गरे ।
समितिले गत साउन ९ गते टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनका लागि अनुमति दिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया