अर्थ / बाणिज्य

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा साढे दुई करोड कारोबार

इकागज |
मंसिर १८, २०८० सोमबार १६:१९ बजे

काठमाडौँ- ‘नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ मा करिब साढे दुई करोडको कारोबार भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अनुसार सोमबार (आज) सम्पन्न ५ दिने मेलामा करिब साढे दुई करोडको कारोबार र करिब २५ हजार अवलोकनकर्ता सहभागी भएका हुन् । ग्राहकलाई लक्षित गरेर नेपाल, बंगलादेश र पाकिस्तानले मात्रै स्टल राखेकाले अपेक्षाअनुसारको कारोबार नभएको महासंघका सहायक निर्देशक परशुराम नेपालले बताए ।


उनले भने, ‘इन्डियाको कन्जुमर फियर भन्दा पनि पावर सो थियो । चाईनाको मेशिनरी टेक्नोलोजीसँग रिलेटेड भएको हुनाले उनीहरूले डाईरेक्ट सेलभन्दा पनि नटवर्किङको हिसाबले आए । करिब ६० वटा नेपाली स्टल अनि इण्डियन, बंगलादेश र पाकिस्तानको ५/७ वटा, ५/७ वटा चाँही बिक्री गर्ने स्टलहरू भएको हिसाबले करिब साढे २ करोड जति कारोबार भएको अनुमान गरिएको छ ।’

नेपालमा उत्पादित निर्यातयोग्य वस्तुहरूको बजारीकरण गर्नका लागि सो मेला आयोजना गरिएको थियो । बजार प्रवर्द्धनको हिसाबले भने मेला फलदायी रहेको महासंघको निष्कर्ष छ । मेलामा नेपाली हस्तकलाका सामग्री, बंगलादेशको कपडा र पाकिस्तानको लेदरब्याग, पर्स, जाकेटलगायतका सामग्रीहरूमा ग्राहकहरूले चासो दिएका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत मंसिर १४ गते उद्घाटन गरेको सो अन्तर्राष्ट्रिय मेलामा नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तानसहित करिब २ सय वटा स्टल राखिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रिय स्तरको मेला हुने गरेको छ । 

 


Author

थप समाचार
x