अर्थ / बाणिज्य

इयुको कालोसूचीबाट नेपालको हवाई उडान क्षेत्र नहट्नुमा नेपाल एयरलाइन्सको दोष छैन : प्रवक्ता पौडेल

इकागज |
मंसिर १८, २०८० सोमबार १७:४७ बजे

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियय युनियन (इयु) ले कालोसूचीबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।​ इयुको पछिल्लो अडिट रिपोर्टमा पनि नेपालको हवाई क्षेत्र कालोसूचीबाट नहट्नुमा निगम जिम्मेवार रहेको भनि केही समाचार माध्यमले समाचार सम्प्रेषित गरेकोमा आपत्ति जनाउँदै निगमका प्रवक्ता रमेश पौडेलले यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले सोमबार अपरान्ह न्युज एजेन्सी नेपालसँग प्रतिक्रिया दिँदै इयुको सो प्रतिवेदन नेपालको समग्र हवाई उडान क्षेत्रकै अडिट गरेर आएकाले त्यसमा निगमको कमजोरी भन्न नमिल्ने तर्क गरे । उनले निगमको कमजोरीलाई इयुले औंल्याएर नेपालको हवाई उडानलाई कालोसूचीमा राखेको भए नेपालका अन्य वायुसेवा प्रदायक संस्थाहरूले इयुबाट अडान अनुमति पाउने प्रावधान रहेको स्मरण गराए ।


प्रवक्ता पौडेलले इयुको कालोसूचीबाट नेपालको हवाई उडान क्षेत्रलाई हटाउनका लागि सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्नेमा आवश्यक पनि औंल्याए । इयुले २९ नोभेम्बर २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको हवाई उडानको क्षेत्रलाई फेरि पनि कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । प्रवक्ता पौडेलले त्यो अडिट रिपाेर्ट समग्र नेपालको हवाई उडान क्षेत्रको भएकाले त्यसमा निगमको कमजोरीले भएको भन्न नमिल्ने बताए ।

प्रवक्ता पौडेलले आम मानिसमा भ्रम छरेर निगममाथि दोष थोपर्ने काम नगर्न पनि सञ्चार माध्यमहरूलाई आग्रह गरे ।


Author

थप समाचार
x