अर्थ / बाणिज्य

न्युरोडबाट सुनसहित एक जना समातिए

इकागज |
मंसिर २०, २०८० बुधबार १२:८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।  

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।


प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पुष्टि गरे । उनले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको जानकारी दिए । सुन कति बरामद भएको भन्ने बारेमा प्रहरीले खुलाएको छैन । उनले सुन कति छ भन्ने जोखिसकेपछि थाहा हुने बताए ।

बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिए । अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x