अर्थ / बाणिज्य

एनसेलको सेयर खरिदबिक्रीबारे के भन्छन् सतिशलाल आचार्य ?

इकागज |
मंसिर २१, २०८० बिहीबार १२:३६ बजे

काठमाडौँ- स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका सेयरधनी सतिशलाल आचार्यले एनसेलको सेयर खरिद प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरेको बताएका छन् । एनसेल खरिद प्रक्रियामा विवाद आएपछि आचार्यले स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरूमध्येबाट पहिलो भई छानिएको बताएका हुन् ।

'आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी)मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहर मध्येबाट पहिलो भई छानिएको हो । सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो' आचार्यले भने 'सहमति भएको सम्झौता ढाँचाअनुसार आजियाटाले बेस पेमेन्टबाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँटको रूपमा प्राप्त गर्नेछ । यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ । यसबाहेक यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्‍याउने छ ।'


एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरू हासिल गर्न सरकारलाई योगदान पुर्‍याउन प्रतिबद्ध रहेको आचार्यले बताए ।

'एनसेलले आजको दिनसम्मको सबै कर दायित्वहरू सम्पुर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिनेछ' आचार्यले भने 'यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्घ रहेको छ र आफ्ना सम्पुर्ण सरोकारवालाहरूलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं ।'   

आवश्यक सहमतिहरूका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको उनले बताए ।

'एनसेलमा केही परिवर्तनहरू भईरहेको बेला हाम्रा ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउन चाहन्छौं' उनले भने 'एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं ।'

नेपालीहरूको जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरुप परिस्कृत डिजिटल सेवाहरूमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्न एनसेल तयार रहेको उनले बताए ।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलको ८० प्रतिशत सेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो । 

सन् २०१६ मा तत्कालीन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् रु एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर, अहिले सोही शेयर पाँच करोड डलर अर्थात् रु साढे छ अर्बमा बिक्री भएको छ ।


Author

थप समाचार
x