नेपाली श्रमिकहरूलाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउन सकिँदैन : श्रम सचिव
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन् ।
आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८) को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडी लगायत मुलुकहरूमा फ्रि भिसा फ्रि टिकटमा पठाउने काम भए पनि पठाउन नसकिने स्पष्ट पारे ।
उनले योग्यता क्षमता र सीप भएका श्रमिकहरूको माग गर्दा नै त्यो देशको एजेन्सीहरूले सटेन कमीसन लिने गरेको बताए । उनले श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्रि भिसा फ्रि टिकटमा श्रमिक पठाउन नकिने देखिएको बताए ।
सचिव भण्डारीले सरकारले फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको उल्लेख गरे । उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने मापदण्ड बनाएको भन्दै लिँदै आएको १० हजारमा पठाउन नसकिने बताए । उनले श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवाशुल्क म्यानपावरले लिन पाउने र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिनसक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए ।
उनले अभिमुखीकरण तालिमका दिन्छु भनेर खोलिएका संस्थाहरूले अभिमुखीकरण तालिम नदिए तत्काल खारेज गर्ने चेतावनी समेत दिए । उनले मन्त्रालयले अनुगमनका क्रममा धेरै संस्थाहरूले तालिम नदिएको पाएकाले त्यस्ता संस्थाहरू खारेज गर्न लागेको जिकिर गरे । दर्ता गर्ने तर कर्तव्य पालना नगरेपछि त्यस्ता संस्थाहरू खारेज हुने उनकाे भनाइ छ ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ । यो वर्ष नेपालले आप्रवासी र आश्रित परिवारको संरक्षण, महिला आप्रवासी श्रमिकको सम्मान गर्न लैंगिक विभेदको अन्त्य, आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया