अर्थ / बाणिज्य

बिहीबारबाट सुरु हुने आठौँ घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा

इकागज |
पुस ११, २०८० बुधबार १४:१७ बजे

काठमाडौँ- काठमाडौँको भृकुटीमण्डपमा हुने आठौँ घरजग्गा मेलाको तयारी पूरा भएको छ । पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौँ घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको हो ।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेला १२ देखि १५ गतेसम्म सञ्चालन हुने र मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले मेला बिहान १० देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बताए ।


उनले क्रेता र विक्रेताहरूका लागि यो मेला महत्वपूर्ण र लाभदायी हुने भनाइ राखे । उनले अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखेर मेला सञ्चालन गरिएको बताए ।

अध्यक्ष धमलाले यस पटकको मेलामा पनि डेढ लाखसम्म अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा लिएको बताए । उनले मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी लगायतका स्टलहरू रहने बताए ।

अध्यक्ष धमलाले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए । उनले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताए ।


Author

थप समाचार
x