अर्थ / बाणिज्य

पूर्वाधार निर्माणका योजना अनुगमन सुरु, सामग्रीको गुणस्तरमाथि निगरानी

पहिलो चरणमा ठूला १० वटा योजना अनुगमन हुने

इकागज |
पुस ११, २०८० बुधबार २०:४६ बजे

काठमाडौँ- अनुगमन तथा मूल्याङ्कन समितिले आजदेखि पूर्वाधार योजनाहरूको अनुगमन सुरु गरेको छ । समितिकी संयोजक सुनिता डंगोल, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, समितिका सदस्यहरू, इञ्जिनियरसहितको टोलीले आज वडा नं. २९ को निर्माणाधीन कार्यालय भवन र ब्याडमिन्टन कोर्टको अनुगमन गर्यो । 

'पूर्वाधार निर्माणको योजना, लागतअनुमान र सार्वजनिक खरिद प्रक्रियामा उल्लेख भएका सर्तहरू अनुगमनका सूचक हुन्,' अनुगमनका क्रममा संयोजक डंगोलले भनिन्, ‘लगानी बराबरको नतिजा प्राप्त गराउनु अनुगमनको उद्देश्य हो ।’  


अनुगमनका क्रममा आयोगका उपाध्यक्ष डा. राज भण्डारीले बालुवा, डण्डी, सिमेन्ट, इटा जस्ता निर्माण सामग्री र निर्माण विधिमा निगरानी गर्नुपर्ने बताए । उनले भने, 'निर्माण अवधिमा सामग्रीको गुणस्तर हेर्छौँ । आवश्यकताका आधारमा अब गुणस्तर परीक्षण गराउने काम थालिनेछ ।’ 

योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछानेका अनुसार पूर्वाधार योजनाको नियमित अनुगमन थालिएको छ । यसको थालनीमा ठूला १० वटा योजनाको अनुगमन गरिनेछ । 

पहिलो चरणमा अनुगमन गरिने ठूला योजनाहरू वडा नं. ३, ४, ९, १६, २२, २६ र २९ वडामा छन् ।

आजको अनुगमनको निष्कर्षका बारेका जानकारी दिँदै लामिछानेले भनिन्, 'निर्माण पक्षलाई गुणस्तर परीक्षणको प्रतिवेदन उपलब्ध गराउन, ढलानलगायतका काम गर्दा अनुगमन समिति र महानगरपालिकाका प्राविधिक विज्ञहरूको उपस्थितिमा काम गर्न निर्देशन दिइएको छ ।'

वडा कार्यालयको अनुगमन गर्दा छड, सिमेन्टको गुणस्तर, निर्माण स्थलको सतह, भूमिगत तला, निर्माण सामग्रीको मिश्रण र मोटाइलगायत पक्ष हेरिएको थियो । यस्तै ब्याडमिन्टन कोर्टको उपयोग र पहुँचको पक्ष हेरिएको थियो । 


Author

थप समाचार
x