अर्थ / बाणिज्य

६१ वटा उद्योगहरूले पैसा तिरेका छैनन्, ९ वटा काटियो, बाँकी काट्दै जान्छौँ : कुलमान घिसिङ

'ट्रंक र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगहरूको लाइन सामूहिक निर्णयबाट काटिएको हो'

इकागज |
पुस १२, २०८० बिहीबार १९:० बजे

काठमाडौँ​- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगहरूको लाइन सामूहिक निर्णयबाट काटिएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा काटेको महसुल नतिर्नेहरूको लाइन काटेको बताएका हुन् । कार्यकारी निर्देशक घिसिङले विभिन्न समयमा मन्त्रिपरिषदको निर्णय, संसदीय समितिको निर्देशन र अदालतको फैसला तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव एवं निर्देशनमा सबैको सहमतिबाट महसुल नतिर्ने उद्योगको विद्युत् लाइन काटेको बताए ।


उनले नेपाल विद्युत् प्राधिकरणको एकल निर्णय र कार्यकारी निर्देशकको निर्देशनले मात्रै ट्रंक लाइन र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगको लाइन नकाटिएको स्पष्ट पारे । उनले यो विषय अहिले ठूलो विषय बनेको र सामूहिक विषय बनेको बताए ।

 

कार्यकारी निर्देशक घिसिङले उद्योगहरूले रकम भुक्तानी नगरेपछि अब लाइन काट्नुको विकल्प नरहेको निष्कर्षसहित विद्युत् लाइन काटिएको स्पष्ट पारे । उनले करिब ६१ वटा उद्योगीहरूको ट्रंक लाइन र डेडिकेटेड महसुल बाँकी रहेको बताए । जसाध्ये अहिलेसम्म ट्रंक लाइन र डेडिकेटेड लाइनको महसुल नतिर्नेहरू ९ वटा उद्योगको लाइन काटेको र बाँकीको क्रमशः लाइन काट्दै जाने स्पष्ट पारे ।

 

कार्यकारी निर्देशक घिसिङले ट्रंक लाइन र डेडिकेटेड लाइनको महसुल नतिर्नेहरूको लाइन क्रमशः काट्दै जाने चेतावनी दिए । 


Author

थप समाचार
x