६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छः अर्थमन्त्री
फाइल तस्बिर
काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए । उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे । सामाजिक सञ्जालमा नकारात्मक कुरा भएपनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो । हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको तर्क समेत गरे । अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढावा पाउने विश्वास समेत व्यक्त गरे ।
अर्थमन्त्री महतले भने, ‘अहिले हाम्रो अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ । विदेशी रेमिट्यान्स पनि स्वदेशमा आइरहेको छ । बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ । शेयर मार्केट पनि बढेको छ । जग्गाको कारोबार पनि बढेको छ । अत्याधिक अवस्थामा शेयर र जग्गामा अत्याधिक कारोबार हुँदाखेरी माग आपूर्तिको बीचमा ठूलो असन्तुलन भयो । त्यसले गर्दा त्यहाँ शिथिलता आएको थियो । अब बिस्तारै पनि लय पक्रिँदै छ । र, राजश्व पनि बिस्तारै बढ्न थालेको छ । आर्थिक गतिविधि बढ्न थालेको छ । अब निराशाको अवस्था चाहीँ छैन । खाली एउटा सामाजिक सञ्जाल पब्लिक स्पेसमा नेगेटिभ कुरा चाहिँ नेपालमा धेरै बिक्छ । नेगेटिभ कुरा गर्यो भने त्यसमा लाईक, फलोअर्स पनि बढिहाल्छ । अब अरु क्रियटिभ कुरा, पोजेटिभ कुराहरूलाई सहजै विश्वास गरिँदैन । त्यसकारण अब यो कुरा जो तथ्य सामुन्ने छ । त्यसको आधारमा छलफल चलाउने हो भने सकारात्मक माहोल बन्छ । र, आत्मविश्वास बढ्छ । आत्मविश्वास बढेको अवस्थामा अर्थतन्त्रले अझ बढी पिकअप लिन्छ भन्ने मलाई लागेको छ । अघि मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ । त्यसो हुनाले आर्थिक वृद्धिको हाम्रो ६ प्रतिशतको लक्ष्य पनि करिब हामीले प्राप्त गर्ने सम्भावना देखिँदैछ ।’
सो अवसरमा अर्थमन्त्री महतले सार्वजनिक पुस्तकालयहरूको व्यवस्थापनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया