अर्थ / बाणिज्य

घरजग्गा मेलामा उपभोक्ताको आकर्षण, एउटा घर किन्दा ३० लाखसम्मको छुट

इकागज |
पुस १४, २०८० शनिबार ११:२० बजे

काठमाडौँ  - काठमाडौंको भृकुटीमण्डपमा पौष १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताहरूले उल्लेख्य उपस्थिति जनाएका छन् । 

लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताहरूको उपस्थिति मेलामा उल्लेख्य रहेको हो । मेला कोरोना भाइरस लगायतका कारण लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन । लामो समय घरजग्गाको कारोबार भौतिक रुपबाट बुझ्न र गर्न नपाएको उपभोक्ता र व्यवसायीहरू मेलामा उल्लेख्य रुपमा प्रस्तुत भएका छन् । मेलामा उपभोक्ताहरू आकर्षक छुट र गुणस्तरीय घर तथा जग्गाको कारोबारमा लोभिएका छन् । मेलामा स्टल राखेर उपभोक्ताहरूलाई जानकारी र आफ्ना सामग्री बिक्री गरिरहेका छन् । मेलामा रहेका सिडी डेभलपर्स, रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि., ग्रिन हिल सिटी, ग्रिन सिटी नेपाल, सिजी प्रपर्टी रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना प्रपर्टीहरु राखेका छन् । सिडी डेभलपर्सले मेलामा एउटा घरको २५ लाखसम्मको छुट दिएको छ । डेभलपर्सका निर्देशक दीपक कुवँरले आवास आकृति कोलोनी भने एउटा घर किन्दा ३० लाखसम्मको छुट मेलामा आउने र किन्ने उपभोक्ताहरुलाई दिइएको बताए । आवास कोलोनी भनेर टोखामा नयाँ प्रोजेक्ट बनाइरहेको र सो कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट दिएको बताए । 


उनले भने, ‘व्यवस्थित बसोवासका लागि अवधारणामा जुन कन्स्ट्रक्सन गरिरहेका छौँ, यो प्ल्याटफर्मबाट विभिन्न रेन्जका घरहरू, अपार्टमेण्टहरु, जग्गाहरु र त्यसको एउटा क्वालिटी र व्यवस्थित बसोवास बनेको चिजहरू यहाँ प्रस्तुत गरेका छौँ । हाम्रो अहिले डिस्काउण्ट गरेका छौँ । अहिले घरजग्गा अहिले अलिकति मन्दी भएको कारणले गर्दा सबैलाई यो एउटा कन्फिडेन्स गर्नको लागि डिमाण्ड पनि छ । बनाइरहनुभएको पनि छ । यो प्ल्याटफर्ममा एउटा डिस्काउण्टसहितको प्रोजेक्टहरु हामीले राखिरहेका छौँ । नयाँ प्रोजेक्टमा हाम्रो आवास आकृति कोलोनी भन्ने छ । यसमा नियो क्लासिकल घरहरू छ । एउटा घर किन्दा ३० लाखसम्मको डिस्काउण्ट राखेका छौँ । आवास कोलोनी भनेर टोखामा नयाँ प्रोजेक्ट बनिरहेको छ । त्यहाँ एउटा घरको २५ लाखसम्म छुट दिएका छौँ ।’

यता, रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि.ले हेटौँडा, विराटनगरदेखि नगरकोटसम्म जग्गा र नगरकोट ड्रिम सिटीको योजना अघि सारेको छ । यो व्यवस्थित र अहिलेको मापदण्डअनुसार खुला क्षेत्रसहित राखेर खुला क्षेत्रमा पनि कम्युनिटी हल गार्डेनसहित बनाउने काम भइरहेको प्रा.लि.का अध्यक्ष ध्रुव घिमिरेले बताए । उनले हेटौंडामा पनि ड्रिम सिटी बनाइरहेको र हेटौँडाको १० धुरमा बनेका घरको मूल्य एक करोडसम्म पर्ने बताए । नगरकोटको काम सुरु भएको ६ महिना भएको र सो अवधिमा अहिले सबै काम सकिसकेर बाटोको रेखांकनको काम भइरहेको बताए । 

उनले भने, ‘हाम्रो स्टलमा घडेरी बेच्ने काम मात्रै भइरहेको छ । हेटौँडा, विराटनगरदेखि नगरकोटसम्म छ । विशेष फोकस नगरकोट ड्रिम सिटी भनेर प्लानिङ गरिरहेका छौँ । यो व्यवस्थित र अहिलेको मापदण्डअनुसार खुला क्षेत्रसहित राखेर खुला क्षेत्रमा पनि कम्युनिटी हल गार्डेनसहित बनाएर गरिरहेका छौँ । त्यस्तै हामीले हेटौँडामा पनि बनाएका छौँ । हेटौडामा भइसकेकै छ । यहाँ निर्माणाधीन छ । विराटनगरमा पनि काम सुरु भइसकेको छ । नगरकोटको काम सुरु भएको ६ महिना भयो, बाटोको रेखांकनको काम भइरहेको छ । ४१ रोपनी क्षेत्रफलमा फैलिएको छ । हेटौँडामा १० धुरमा बनेका घरको १ करोड रहेको छ ।’

त्यस्तै, ग्रिन हिल सिटीका अध्यक्ष भेषराज लोहनी, ग्रिन हिल सिटीले अहिले मुलपानीमा ग्रिन हिलसिटी भनेर नेपालकै एउटा ठूलो आयोजना सञ्चालन गरिरहेको बताउँछन् । जसमा ८ सय वटा घरमध्ये करिब १३ वटा घरहरू मात्रै बन्न बाँकी रहेका छन् । नयाँ प्रोजेक्टको रुपमा भक्तपुरमा सिपाडोलमा सूर्यविनायक कोलोनी रहेको र जसमा करिब ५५ रोपनीमा १५० वटा घरहरू बनाउने योजना रहेको बताए । उनले एउटा युनिट बुक भएको खण्डमा १० लाखसम्मको छुट दिएको बताए । आफ्नो कम्पनीले बनाएका साढे दुई तलाका घरहरू दुई हजारदेखि तीन हजार स्क्वायरफिटका घर दुई करोडदेखि ५ करोडसम्म पर्ने बताए । एक्स्पोको सहभागिता उत्साहजनक रहेको बताए । 

उनले भने, ‘अहिले हामीसँग मुलपानीमा ग्रिन हिलसिटी भनेर नेपालकै एउटा ठूलो आयोजना सञ्चालन गरिरहेका छौँ । त्यसमा ८ सय वटा घरमध्ये करिब १३ वटा युनिटहरू घर बाँकी छन् । नयाँ प्रोजेक्टको रुपमा भक्तपुरमा सिपाडोलमा सूर्यविनायक कोलोनी भनेर निकट भविष्यमा प्रोजेक्ट ल्याउँदैछौँ । जसमा करिब ५५ रोपनीमा १५० वटा घरहरू आउने क्रममा छ । ग्रिन हिल सिटी करिब हामीले २२ वर्ष अघिदेखि सुरु गरेको हो । यसले बालकोटमा रोज भिलेजको रुपमा फस्ट प्रोजेक्ट गरेको थियो । दोस्रो ललितपुरको इमाडोलमा बनाएका थियौँ । तेस्रो काठमाडौंको धुम्बाराहीमा बनाएका थियौँ । यी सबै सकिसकेका छौँ । एउटा युनिट बुक भएको खण्डमा १० लाखसम्मको अफर दिएका छौँ । एक्स्पो ४ दिने सुरु भएको छ, हिजोदेखिको सहभागिता उत्साहजनक छ, यहाँ आएर जानकारी लिन राम्रोसँग रुचि देखिएको छ । साढे दुई तलाको घर ४ बेडरुम किचन, डाइनिङहरु छन् । साढे दुई तलाका घरहरू दुई हजारदेखि तीन हजार स्क्वायरफिटका घर दुई करोडदेखि ५ करोडसम्म पर्छ ।’

त्यस्तै ग्रिन सिटी नेपालले पनि साढे दुई तलाको घर ५० लाखमा बनाएर दिने योजनाअनुसार सुनसरीस्थित इनरुवामा स्मार्ट सिटी बनाइरहेको जनाएको छ । ग्रिन सिटी नेपालका डिजिटल मार्केटिङ हेड विनुप कपालीले ग्रिन सिटी ५५ बिगाहमा फैलिएको बताए । सिटीमा हस्पिटल, कलेज, फनपार्कहरुको सुविधा रहेको बताए । २ वर्षभित्रमा नेपालकै नमूना स्मार्ट सिटी बनाउने तयारीअनुसार काम गरिरहेको बताए । 

उनले भने, ‘हाम्रो ग्रिन सिटी ५५ बिगाहमा फैलिएको छ । सुनसरीस्थित इनरुवामा बनेको छ । ग्रिन सिटीलाई स्मार्ट सिटी भनेर ग्रहण गरिरहेका छौँ । ग्रिन सिटी भित्र हस्पिटल, कलेज, फनपार्कहरु छ । २ वर्षभित्रमा नेपालकै नमूना स्मार्ट सिटी बनाउने तयारी गरिरहेका छौँ । ग्रिनसिटी भित्र तपाईँलाई चाहिने जतिपनि लेटेस्ट टेक्नोलोजी छ, त्यो पाउनुहुन्छ । साढे दुई तलाको घर ५० लाखमा बनाएर दिने भन्ने योजना छ ।’

त्यस्तै सिजी प्रपर्टी रियल स्टेटले एक करोड ९५ लाखदेखि १३ करोडसम्मको घरहरू ल्याएको छ । कम्पनीसँग सुविधासम्पन्न घरहरू भएको बताउँछिन स्टेटकी सिनियर म्यानेजर शारदा प्रसाईं । उनले भैँसेपाटी, सुनाकोटी, धापाखेल र पनौतीमा ४ वटा प्रोजेक्ट बनिरहेको बताइन् । स्टलमा आएर बुकिङ गर्दा ५ प्रतिशत डिस्काउण्ट राखेको उनले सुनाइन् । 

उनले भनिन्, ‘अहिले हाम्रो जतिपनि प्रोजेक्टहरू रनिङ भइरहेको छ, ४ वटा प्रोजेक्ट रनिङ भइरहेको छ । मिडियमदेखि हाइ लेभलसम्मको प्रपटीहरु हामीसँग रेडि छ । यो स्टल राख्नुको कारण हामीले भैँसेपाटी, सुनाकोटी, धापाखेल र पनौतिमा रनिङ भइरहेको छ । स्टलमा आएर बुकिङ गर्दा ५ प्रतिशत डिस्काउण्ट राखेका छाँै । एक करोड ९५ लाखदेखि १३ करोडसम्मको घरहरु छन् ।’

यता पद्य ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक सुवास शर्माले मेलामा आएर बुक गर्ने उपभोक्ताहरुलाई कम्युनिटी चार्ज छुट दिइरहेको बताए । उनले पद्य रेसिडेन्सी भनेर डाँडापौवामा कम्पनीले सञ्चालन गर्न गइरहेको र अपार्टमेण्ट २३ तलाको हुने बताए । उनले फस्ट वान बिएचकेलाई ६० लाख, टु बिएचकेलाई ८५ लाख,थ्रि बिएचकेलाई ९९ लाखमा र फोर्थ बिएचकेलाई १ करोड १५ लाखसम्म मूल्य निर्धारण गरिएको बताए । 

उनले भने, ‘अरु भन्दा फरक के छ भने हामी जग्गा पनि बेच्छौँ, हामीसँग घरको भेराइटीहरु पनि छ । अपार्टमेण्टमा पनि भेराइटी छौँ, दुई वटा अपार्टमेण्ट गरिरहेका छौँ, दुई वटा हाउजिङमा लागेका छौँ । कस्टमरको च्वाइसलाई फुलफिल गर्नसक्छौँ । ठूलो भर्‍याङमा १० तलाको अपार्टमेण्ट छ, पद्य आइकोनिक टावर भनेर । त्यसमा अहिले हामीले बुक गर्दा कम्युनिटी चार्ज छुट दिइरहेका छौँ । पद्य रेसिडेन्सी भनेर डाँडापौवामा हामी लञ्च गर्न लागिरहेका छौँ । त्यो ९६६ वटा अपार्टमेण्ट प्लान गरिरहेका छौँ, २३ तलाको हुन्छ । फस्ट वान बिएचकेलाई ६० लाख, टु बिएचकेलाई ८५ लाख,थ्रि बिएचकेलाई ९९ लाखमा र फोर्थ बिएचकेलाई १ करोड १५ लाखसम्म छ । हिजोसम्म घर जग्गा कारोबार छैन भन्ने थियो भने आज यस्तो छ भन्ने भयो ।’

यता, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेलामा उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको बताए । उनले अवलोकन कर्ताहरु भन्दा बढी उपभोक्ताहरु मेलामा आएको बताए । मेला लामो समयपछि सञ्चालन भएकाले उपभोक्ताहरुको उपस्थिति बढेको उनको भनाइ छ ।

उनले भने, ‘मेला भव्य र सभ्य भइरहेको छ । भिजिरटरहरु पनि धेरै नै हुनुहुन्छ । उपभोक्ता धेरै आउनुभएको छ । घरजग्गा मेला एउटा अवसर हो । यहाँ क्रेता र बिक्रेता एकै ठाउँमा हुन्छन् । सिधा कन्ट्याक्ट हुन्छ, चाहेको घर जग्गा किन्न सक्नुहुन्छ । घरमा उपभोग गर्ने सबै कुराहरू छन् ।’

अध्यक्ष धमलाले मेलाबाट सुलभ र राम्रो मूल्यमा घरजग्गाको कारोबार गर्न सकिने स्पष्ट पारे । 


Author

थप समाचार
x