अर्थ / बाणिज्य

केरूङबाट ६० थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौँ पुग्दै

अजय अलौकिक |
जेठ २२, २०७८ शनिबार २१:५६ बजे

बेइजिङः ल्हासास्थित महावाणिज्यदूतावासले शनिबार ६० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ । महावाणिज्य दूतावासको अनुरोधमा तिब्बत स्वायत्त प्रदेश गुडविल फाउण्डेशनले उक्त सहयोग उपलब्ध गराएको बताइएको छ । 

गुडविल फाउण्डेशनका तर्फबाट नेपाल सरकारलाई ५० थान र सछ्वान प्रान्तको लुसान सहरले लुम्बिनी विकास कोषका लागि १० थान कन्सन्ट्रेटर सहयोग स्वरूप उपलब्ध गराएको ल्हासास्थित महावाणिज्य दूतावासले जनाएको छ ।


शनिबार बिहान महावाणिज्यदूतावासमा एक हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महावाणिज्यदूत नवराज ढकालले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्दै नेपालमा महामारी फैलिएदेखि चीन सरकार, तिब्बत स्वायत्त प्रदेश सरकारका साथै चिनियाँ सामाजिक संस्थाहरूले समेत महामारीविरूद्ध लड्न सहयोग गर्दैआएको बताए । उनले भने, चीन र चिनियाँहरूले सहयोगका लागि देखाएको तत्परताले दुई देश र जनताबीचको कसिलो सम्बन्ध दर्शाएको छ ।

यसै गरी, उक्त गुडविल फाउण्डेशनका अध्यक्ष मा चच्यानले कार्यक्रमलाई सम्बोधन गर्दै महामारीविरूद्ध लडाइँमा एक्ताबद्ध रहेको बताए । उनले भने, ‘हामीसँगै मिलेर महामारीविरूद्धको लडाइँ लड्ने छौँ । साथै चिनियाँ नेपालीबीच जनस्तरीय मैत्रीसम्बन्धमा नयाँ अध्याय लेख्ने छौँ ।’

उनका अनुसार उक्त फाउण्डेशनले नेपालमा युवा तथा महिलाहरूलाई सीप तालिम दिनुका साथै भूकम्प पीडितलाई सहयोग र लोक कल्याणकारी कार्यक्रमहरू गर्दै आएको छ । यसैबीच, महावाणिज्यदूत नवराज ढकालले ५ लिटरको ६० थान अक्सिजन कन्सन्ट्रेटर शनिबार दिउँसै तातोपानीका लागि पठाइसकेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराइसकेको बताए । उक्त सामग्री आइतबार खासा पुग्ने छ । 

यस्तै तिब्बत औद्योगिक पार्कले झापाको दमकका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउने भएकोले त्यसको समन्वयमा लागिरहेको पनि महावाणिज्यदूत ढकालले बताए । यसबाहेक ढकालले केरूङबाट नेपाल जाने ट्रकको संख्या बढाउनका लागि तिब्बत स्वायत्त प्रदेश सरकारले थप तयारी गरिरहेको पनि बताए । उनले प्रदेश सरकारलाई स्वास्थ्य सामग्रीलाई प्राथमिकतामा राखी छिटोभन्दा छिटो नेपाल सीमासम्म पुर्याउन अनुरोध गरिरहेको इकागजलाई जानकारी दिए ।
 


Author

थप समाचार
x