अर्थ / बाणिज्य

हिमालय एयरलाइन्सलाले पायो आयोसा सर्टिफिकेट

इकागज |
पुस २४, २०८० मंगलबार १८:५१ बजे

काठमाडौँ- हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरूप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ । गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म मान्य हुने गरी आयोसा प्रमाणीकरण गरेको हो । योसँगै हिमालय एयरलाइन्स विश्वका विमान कम्पनीसरह सुरक्षा मापदण्ड कायम गर्ने विमान कम्पनीका रूपमा दर्ज भएको छ । 

हिमालय एयरलाइन्स नेपाल-चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हो । यो उपलब्धिलाई हिमालय एयरलाइन्सले उड्डयन क्षेत्रको कोसोढुङ्गाको रूपमा लिएको जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले आयोसामा दर्ता भएको उपलब्धि विमान कम्पनीको मात्रै नभइ मुलुक र उड्डयन क्षेत्रको उपलब्धि भएको बताए । 'यो उपलब्धिले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ,' उनले भने, 'हवाई सुरक्षामा नयाँ आयाम  स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।'


यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्ड कायम राख्नका लागि कम्पनीको निरन्तर प्रयासलाई मात्र प्रमाणित गर्ने नभई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायुसेवा कम्पनीका रूपमा समेत स्थान दिने उपाध्यक्ष श्रेष्ठले बताए । उनले आगामी वर्षहरूमा पनि यस उपलब्धिलाई कायम राख्न कम्पनी प्रतिबद्ध रहेको बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्मचार्यले हिमालय एयरलाइन्सको उपलब्धि मुलुकका लागि गौरवको विषय भएको बताइन् । उनले भनिन्, 'प्राधिकरणका तर्फबाट म हिमालय एयरलाइन्सलाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणका लागि तथा प्रतिष्ठित प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु । हिमालय एयरलाइन्सको यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँछ ।'

सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले हाल चार थान विमान तीन एयरबस ३२०-२१४ र एक एयरबस ३१९-१४४ मार्फत मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका पाँच सहरहरु बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दै आएको छ ।


Author

थप समाचार
x