अर्थ / बाणिज्य

तरुलको व्यापार बढ्यो

इकागज |
पुस २९, २०८० आइतबार १५:८ बजे

काठमाडौँ​- माघे संक्रान्तिका अवसरमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुलको व्यापार बढेको छ ।

कालीमाटी तरकारी बजारमा तरुलका साथै सखरखण्डको व्यापार बढेको छ । माघे संक्रान्ति विशेष गरी तरुल र चाकुको चाड हो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ ।


संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरुल बेच्न थालेका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरुल प्रतिकेजी औसत ६५ रुपैयाँमा बिक्री भएको छ भने सखरखण्ड प्रतिकेजी न्यूनतम ७० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

सर्लाहीबाट तरुल लिएर आएका व्यापारी बुद्धिमान लोप्चनले पछिल्लो तीन दिन तरुलको बिक्री बढेको भए पनि गत सालभन्दा बढी व्यापार हुन नसकेको बताए । बजारमा पताले, सिमल तरुल, पानी तरुल, हात्तीपाईले, पातले, आकाशे तरुल पाइने भए पनि पताल तरुलको व्यापार धेरै हुने गरेको उनले बताए ।

जाडोमा रोग प्रतिरक्षात्मक क्षमता बढाउन तरुलले मद्दत गर्ने चिकित्सकहरूको भनाइ छ । त्यस्तै वास प्रश्वास तथा छालासम्बन्धी समस्याका लागि पनि तरुल उपयुक्त मानिन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचन प्रक्रियासम्बन्धी समस्याका लागि राम्रो हुने गरेको छ । 


Author

थप समाचार
x