अर्थ / बाणिज्य

टिप्पणी

सेयरबजार पुँजीकरण अर्थतन्त्र जत्रै : के लगानी जोखिममा छ ?

४२ खर्बको अर्थतन्त्र, ४० खर्बको बजार पुँजीकरण

पवन तिमिल्सिना |
जेठ २४, २०७८ सोमबार ६:२६ बजे

काठमाडौँ : नेपाली पुँजीबजारको आकार कूल गार्हस्थ उत्पादनकै हाराहारी पुगेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७७/७८मा मुलुकको अर्थतन्त्र ४२ खर्ब ६६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ । जसको अनुपातमा बजार पुँजीकरण ९४.५३ प्रतिशत पुगेको हो । सेयर बजार पुँजीकरण मुलुकको अर्थतन्त्रकै आकार बराबर पुग्नुले सेयर बजारमा अधिक मूल्यांकन भएका सेयरमा लगानी जोखिमपूर्ण देखिएको छ । 

सन् २००१ मा फर्च्युन म्यागजिनमा सेयर कारोबारी तथा फोब्स अर्बपति वारेन बफेटले जीडीपीसँग बजार पुँजीकरणको अनुपातलाई सेयर बजारको मापन गर्ने उपयुक्त विधिको रुपमा व्याख्या गरेका थिए । यो विधि बफेट इन्डिकेटरको नामबाट परिचित छ । बफेट इन्डिकेटर ९० प्रतिशतभन्दा बढी भयो भने यसलाई अस्वाभाविक मूल्य बढाइएको मानिएको छ । यो ७० प्रतिशतसम्मको अनुपातलाई स्वाभाविक मानिएको छ । बफेट इन्डिकेटर अनुसार यो अनुपात ९० प्रतिशतभन्दा बढी नाघ्नुलाई लगानीकर्ताका लागि जोखिमको संकेत मानिन्छ । 


सेयर बजारमा ठूला लगानीकर्ताहरूले सट्टेबाज गरि बढाइएको सेयर बजारमा मूल्यमा प्रभाव हुनेगर्छ । ९० प्रतिशतभन्दा माथि बफेट इन्डिकेटर पुगेको तथ्यले सेयर बजारमा अस्वाभाविक मूल्यमा कारोबार गराइएको स्पष्ट हुन्छ । वारेन बफेटले जीडीपीमा बजार पुँजीकरण २०० प्रतिशतभन्दा बढी पुग्नुलाई 'लगानीकर्ताहरूले आगोसँग खेलिरहेको' बताउँछन्  । गत साता मंगलबार अमेरिकी सेयर बजार २०० प्रतिशत नाघेको थियो । वारेन बफेटको व्यख्याअनुसार यो अनुपातले त्यहाँको सेयर बजार 'क्र्यास' हुने चेतावनी दिएको छ । 

छिमेकी मुलुक भारतमा मात्रै यो अनुपात ७७ प्रतिशत मात्रै छ । यद्यपि त्यहाँ सेयर बजार जोखिपूर्ण अवस्थामा रहेको टिप्पणी भइरहेको छ । 

गत आर्थिक वर्षमा दुई दशकमै पहिलोपटक मुलुकको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले उच्च ऋणात्मक पुग्यो । यो विनाशकारी भुकम्प गएको आर्थिक वर्ष २०७१/७२ भन्दा ठूलो आर्थिक क्षति थियो । कोभिड-१९ रोकथामका लागि लामो समय बन्दाबन्दी रहे पनि सेयर कारोबार बन्द गरिएको थियो जसकारण गत आर्थिक वर्ष जीडीपीसँग बजार पुँजीकरणको अनुपात ४५.८ प्रतिशतमा सीमित थियो । त्यसबखत सेयर बजार 'बुलिस ट्रेन्ड'मा देखिए पनि बफेट इन्डिकेटरमा वृद्धि स्वाभाविक नै थियो । 

कोभिड-१९ को दोस्रो लहरले गत बैशाखयता सरकारले देशव्यापी निषेधाज्ञा लगाएको छ । तर, सेयर बजारमा चहलपहल बढिरहेको छ । सेयर कारोबारलाई पूर्णरुपमा अनलाइनमार्फत सञ्‍चालन गरिएपछि चहलपहल बढ्नु स्वाभाविक थियो । तथ्यांक विभागका अनुसार चालु आर्थिक वर्षमा सुधार आउने अपेक्षासहित आर्थिक वृद्धिदर चार प्रतिशतमा सीमित रहने अनुमान छ । कोभिड-१९ महामारीले अर्थतन्त्रमा गम्भिर धक्का पुगेको अवस्थामा पनि सेयर बजारका लगानीकर्ताहरूमा उत्साह छ ।

भूकम्पपछि बढेको थियो बफेट इन्डिकेटर
२०७२ सालमा विनाशकारी भुकम्प गएपछि अर्थतन्त्र तहसनहस भएको थियो । आर्थिक गतिरोधलाई भारतीय नाकाबन्दीले थप मलजल गर्‍यो । तर, सेयर बजारले भने त्यसको ठीक उल्टो प्रतिक्रिया दिइरहेको थियो । आर्थिक वर्ष २०७१/७२ मा ४०.८ प्रतिशतमा सीमित बफेट इन्डिकेटर आर्थिक वर्ष २०७२/७३ मा ७२.५ प्रतिशत पुग्यो । जसको परिणाम सेयरबजारका सर्वसाधारण लगानीकर्ताले भोग्‍नुपर्‍यो । 

धितोपत्र बोर्ड आफैले नियमन गर्ने नाममा सेयर बजारमा कालोधन छानिबन गर्ने हौवा चलायो । जसको परिणामस्वरुप बजारमा भीषण पहिरो नै गयो । लहडको भरमा उचालिएको बजारमा सर्वसाधारणले ठूलो रकम गुमाउनुपर्‍यो । लगानीको उत्तम विकल्प ठानेर बैंकहरूले सेयर बजारमा ठूलो धनराशी बराबर ऋण खन्याएका थिए । बैंकहरूको खराब कर्जा वृद्धि हुनुका साथै आर्थिक क्रियाकलाप बढ्न थालेपछि बैंकहरूले तरलता अभाव समेत व्यहोर्नुपर्‍यो । 

बफेट इन्डिकेटरलाई आधार मान्दा बजार आर्थिक वर्ष २०७२/७३ भन्दा ठूलो जोखिममा पर्ने खतरा बढेको छ । अस्वाभाविक मूल्य बढाइरहेको संकेत बफेट इन्डिकेटरले देखाइरहँदा नीतिगत सुधारको परिणामको रुपमा चर्चा गरिएको छ । तर, 'र्क्यास'को जोखिम बढिरहेको अवस्थामा साना लगानीकर्ताहरू चनाखो हुनुपर्ने देखिन्छ ।


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x