अर्थ / बाणिज्य

खतिवडा अर्थमन्त्री हुँदा लगानी गर्नेले कति कमाए ?

पवन तिमिल्सिना |
जेठ २६, २०७८ बुधबार ९:३८ बजे

काठमाडौँ : २०७४ फागुनमा डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा सेयर बजार घट्ने क्रम शुरु भैसकेको थियो । खतिवडा अर्थमन्त्री भएपछि उनी सेयरबजार मैत्री नभएको भन्दै सट्टेबाजहरूले बजार तीव्र रूपमा घटाए । 

बजार घटेपछि कतिपय लगानीकर्ताले अर्थमन्त्रीको विरोधमा आन्दोलन पनि गरे । तर बजार घट्दा जसले बुद्धिमतापूर्वक लगानी गरे, उनीहरूले अहिले बजार ‘बुल’ हुँदा राम्रो आर्जन गरेका छन् । 


गत वर्ष भदौसम्म अर्थमन्त्री पदमा डा.युवराज खतिवडाको निरन्तरता वा उनको बहिर्गमन भन्ने अन्यौलता सबैभन्दा ठूलो प्रभाव सेयर बजारमा ‘रिफ्लेक्ट’ भएको थियो । ‘खतिवडा हट्ने’ हल्लामा सेयर बजार सूचक हरियो देखिन्थ्यो, निरन्तरता पाउने हल्लाले बिक्रीको चाप बढीहाल्थ्यो ।

खतिवडाको बहिर्गमनको हल्लाले भदौ ८ बाट नेप्से परिसूचक उकालो लाग्यो । १४१०.३४ बिन्दुबाट बढ्न सुरु भएको नेप्से एक साता लगातार बढेर १४८४.९९ बिन्दुसम्म पुगेको थियो । तर, साताको अन्तिम दिन नेप्से परिसूचक स्थिर बन्यो । दिनभर कारोबार अवधिमा ‘हट्ने र फर्किने’ हल्लाको रस्साकस्सीमा सेयर बजारमा उथलपुथल देखियो । 

कार्यकालको सुरुवातदेखि नै ‘सेयर बजार विरोधी’ छवि बनाएका खतिवडा बहिर्गमनको हल्ला पिटाउँदै सेयर प्रभावित बनाएर नाफा कमाउनेहरूले अवसर बनाए । खतिवडाको कार्यकाल अवधिभर घटेको मूल्यमा सेयर खरिद गर्ने लगानीकर्ताले उनको बहिर्गमनपछि उक्त लगानीबाट ठूलो लाभ उठाएका छन् । 

१५९८ अंकले बढ्यो नेप्से

गत वर्ष असार मसान्तमा नेप्से परिसूचक १३६२.३५ बिन्दुमा पुगेको थियो । कोभिड–१९ को पहिलो लहर रोकथाम गर्न सरकारले बन्दाबन्दी लगाएको लामो समयसम्म सेयर बजार बन्द रह्यो । 

लकडाउन खुकुलो बन्दै गर्दा सेयर बजार खुल्यो । बैंक तथा वित्तीय संस्थाहरूको साधारणसभाको मिती नजिकिदै गर्दा नेप्से परिसूचकमा तुलनात्मक वृद्धि सुरु भयो । तर, बीचबीचमा राजनीतिक अन्योलताले सेयर बजार अपेक्षाकृत वृद्धि भइरहेको थिएन । 

तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल सकिएलगत्तै राष्ट्रपतिको सिफारिसमा ६ महिना अर्थमन्त्रीमा निरन्तरता पाइरहेका खतिवडाको बहिर्गमनको हल्लाले सेयर बजार समग्रमा स्थिर नै रह्यो । तर, खतिवडाको बहिर्गमनपछि सेयर बजार लगत्तै चम्किन थाल्यो । 

गत वर्ष २०७७ असार ३१ देखि २०७८ जेठ २५ सम्म नेप्से परिसूचकमा १५९८ अंकको वृद्धि देखिएको छ । असार ३१ मा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ पुग्यो । यो खतिवडा कार्यकाल अवधिभर कायम भएको औषत पुँजीकरणको अवस्था थियो । गत मंगलबार सेयर बजार पुँजीकरण ४१ खर्ब नौ अर्ब रुपैयाँ कायम भएको छ । ४२ खर्बको कुल गार्हस्थ उत्पादन पुगिसकेको अवस्थामा करिब मुलुकको अर्थतन्त्रकै हाराहारीमा बजार पुँजीकरण पुगेको हो । 

खतिवडाको पहिलो कार्यकालमा नेप्से न्युनतम् ११६८.५५ बिन्दुमा पुगेको थियो । तर दोस्रो कार्यकालमा झन् ११०० बिन्दुमै झर्‍यो । तेस्रो कार्यकालमा न्यूनतम् परिसूचक ११०९ बिन्दुमा पुगेको थियो । 

खतिवडाको तीन कार्यकालमा नेप्से परिसूचक अधिकतम् १६६७.९७ बिन्दुसम्म पुगेको थियो । यो उनको पहिलो कार्यकालमा देखिएको तथ्य हो । तर, त्यसपछिका बाँकी कार्यकालमा सेयर बजारले १६०९ भन्दा माथिको बिन्दु कहिले भेट्न सकेन । 

खतिवडाको कार्यकालमा लगानी गर्नेले कति कमाए ?

बैंकिङ क्षेत्रमा

पूर्व अर्थमन्त्री खतिवडाको कार्यकालमा वाणिज्य बैंकहरूमा लगानी गर्नेमध्ये नबिल बैंकमा लगानी गर्नेले सबैभन्दा बढी नाफा कमाएका छन् । गत वर्ष असार मसान्तमा नबिल बैंकको सेयर मूल्य प्रति कित्ता सात सय ६५ रुपैयाँ कायम भएको थियो । मंगलबार नबिलको सेयर मूल्य एक हजार तीन सय १२ रुपैयाँ पुगेको छ । यसबीच यो बैंकका लगानीकर्ताले ७१ प्रतिशतभन्दा बढी नाफा आर्जन गरेका छन् । उच्च दरमा लाभांश दिने भएकाले नबिलमा लगानीकर्ताको आकर्षण बढेको छ । अधिकांश बैंकहरूमा गरिएको लगानीमा दोब्बरभन्दा बढी नाफा देखिएको छ ।

बीमा कम्पनी 

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । गत वर्ष असार मसान्तमा नौ हजार एक सय ९९ रुपैयाँमा झरेको यो बीमा कम्पनीको सेयर मूल्य बढेर २२ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ । समग्रमा बीमा कम्पनीको सेयर खरिद गर्नेले मनग्गे नाफा आर्जन गरेका छन् ।  
जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शेयर मूल्य बढ्दा एकै पटक बढ्ने र घट्दा एकै पटक घट्ने गरेको पाइन्छ। बीमा कम्पनीहरुले सार्वजनिक गर्ने त्रैमासिक वित्तीय विवरणले लाभांसको अनुमान गर्न सकिँदैन । जसले तिव्र उतार चढाव देखिने गरेको छ ।

जलविद्युत् क्षेत्रमा बहार

२०७७ अघि जलविद्युत् लगानीकर्ताहरूको नेगेटिभ लिस्टमा पर्ने गरेको थियो । यसको कारण एउटै थियो, हाइड्रो पावर कम्पनीको साधारण सेयर किन्दा तिरेको मूल्यभन्दा कम मूल्यमा अवमूल्यन हुनु । हइड्रोप्रवर्धकहरू लाइसेन्स होल्ड गर्ने  र जलविद्युत् निर्माण समयमा नहुने जस्ता समस्याले जलविद्युत् क्षेत्र सेयर बजारमा नरुचाइएको क्षेत्र थियो । नेसनल हाइड्रोपावर कम्पनी, छ्यांदी हाइड्रोपावर र बरुण हाइड्रोपावरजस्ता कम्पनीको सेयर मूल्य कित्ताको एक सय रुपैयाँभन्दा कम मूल्यमा झरेको थियो । गत मंगलबारसम्मको कारोबारमा जलविद्युत् कम्पनीका सेयर बजारमा उछाल आएको थियो ।  
 


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x