अपि हाइड्रोपवारले १४ प्रतिशत बोनस शेयर दिने
काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले १४ प्रतिशत बोनश शेयर दिने भएको छ ।
कम्पनी हिजो सोमबार भर्चुल १६ र १७ औं वार्षिक साधारण सभा सम्पन्न गरी यस्तो शेयर वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले मंगलबार विज्ञप्ति जारी गरी कोभिड १९ का कारण स्थगित भएको १६ औं साधारण सभालाई पनि जोडेर दुई साधारण सभा गरेको जनाएको छ ।
साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५र ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६ र ०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
यसैगरी सभाले नयाँ चुक्ता पुँजीको बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको विज्ञप्तिमा छ ।
सभामा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन र कम्पनीका वित्तीय व्यवस्थापन प्रमुख शाश्वत चालिसेले कम्पनीको वित्तीय विवरण प्रस्तुत गरेका थिए ।
त्यसैगरी कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले कम्पनीको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ ।
सभामा शेयरधनीहरूले राखेका जिज्ञासाको अध्यक्ष न्यौपानेले उत्तर दिएका थिए । उनले सेयरधनीका अमूल्य सुझावलाई कम्पनीले सधैं शिरोधार्य गर्ने बताए ।
यसैगरी साधारण सभाले आगामी ४ बर्षको लागि नयाँ संचालक समितिको समेत चयन गरेको छ । सभाले सतीश न्यौपाने, संजीव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने, इन्द्रमणि त्रिताल र सृजना खड्कालाई सञ्चालक समिति सदस्यमा निर्विरोध चयन गरेको छ ।
अपि पावरले हालै हकप्रद सेयर निस्कासन गरेर चुक्ता पुँजी वृद्धि गरेको थियो । कम्पनीले विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६ कित्ता साधारण शेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिशेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
अपिले ८.५ मेगावाटको नौगढ सानो जलविद्युत आयोजनाबाट व्यवसायिक उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ जलविद्युत आयोजना पनि निर्माण पूरा गरिसकेको छ ।
कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणाधीन छन् । कम्पनीले विद्युत प्राधिकरणसँग ती आयोजनाबाट उत्पादिन वबजुली खरिद विक्रि सम्झौता (पीपीए) गरिसकेको छ । हकप्रदबाट जुटाएको रकम कम्पनीले अपर चमेलिया आयोजना निर्माणमा खर्च गरिने कम्पनीले जनाएको छ ।
अपि पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । अपिको विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएसँगै गत वर्षको तुलनामा यो वर्षको त्रैमाससम्म १९५.९६ प्रतिशतले नाफा बढी कमाउन सफल भएको हो ।
विद्युत बिक्रीबाट आम्दानी ६ करोड ३८ लाख ५७ हजार रुपैयाँबाट बढाएर १४ करोड १२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, अन्य स्रोतबाट पनि आम्दानीमा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ ।
असोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ पनि १०९ रुपैयाँ ८२ पैसाबाट बढेर १२४ रुपैयाँ ३० पैसा कायम भएको छ ।
हाल अपिको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकम समेत गरेर कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख रूपैयाँ पुग्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया