अर्थ / बाणिज्य

अमेरिकी किसानको भरोसा नै चीन

इकागज |
जेठ २७, २०७८ बिहीबार ६:४२ बजे

काठमाडौँ : डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा रहँदा अमेरिकाले चीनसँग व्यापार युद्धमा जाने निधो गर्‍यो । विश्वका दुई ठूला अर्थतन्त्र भिड्दा मूलतः अमेरिकी किसान मारमा पारे । तर अहिले अमेरिकी किसानको स्थिति सुधारोन्मुख छ । कारण ? चीनतर्फ बढेको निर्यात । 

अंग्रेजी क्यालेण्डर अनुसार यस वर्ष अमेरिकाले करिब ३७ अर्ब अमेरिकी डलर बराबरको कृषि उत्पादन चीनतर्फ निर्यात गर्दैछ । यो अमेरिकी कृषि मन्त्रालयको अनुमान हो । भटमास, मकै, बिफ, गहुँ, कुखुरा लगायतको आयातमा चीनले ठूलो रकम खर्च गर्न लागेको हो । अमेरिकाले यस वर्ष करिब एक खर्ब ६४ अर्ब अमेरिकी डलर बराबरको कृषि उत्पादन बाह्य मुलुकहरूमा निर्यात गर्ने लक्ष्य राखेको छ । त्यसमा चीन तर्फको निर्यातको हिस्सा २३ प्रतिशत रहने अनुमान गरिएको छ । 


चीनतर्फको निर्यात बढ्ने भएपछि अमेरिकी कृषि उत्पादनको मूल्य पनि बढ्ने छ । दक्षिण अमेरिकी राष्ट्र, ब्राजिलमा मकै र भटमास लगायत वस्तुको उत्पादनमा कमी आएकाले पनि चीनको ध्यान अमेरिकातर्फ सोझिएको हो । सन् २०१८ तिर ट्रम्पले चीनमाथि दबाब बढाउन त्यहाँबाट आउने वस्तुमा कर बढाएका थिए । तर त्यसकोसीधा मारमा अमेरिकी किसान परे । चीनतर्फको निर्यातमा कमी आएपछि अमेरिकी किसानको निर्भरता (मुख्य आयस्रोत) अमेरिकी सरकारले प्रदान गर्ने सरकारले प्रदा गर्ने अनुदानमा थियो । तर सन् २०२० मा चीन सरकारले व्यापार युद्ध टुङग्याउने उद्देश्यका साथ ठूलो मात्रामा अमेरिकी कृषि उत्पादन खरिद गर्ने वाचा गर्‍यो । 

यद्यपि कोभिड-१९ का कारण विश्व व्यापारमा असर पुगेपछि अमेरिकी किसानको चिन्ताको अन्त्य भने हुन पाएन । अब भने चीनले विस्तारै आयात बढाएपछि अमेरिकी किसानले ठूलो राहत महसुष गरेका छन् । अमेरिकाले चीनतर्फ निर्यात गर्ने कृषि उत्पादनको सूचीमा भटमास अग्रस्थानमा छ । चीनमा भटमास सुगुँरको दाना बनाउन प्रयोग गरिन्छ । अनि वनस्पति तेल उत्पादनमा पनि अमेरिकी भटमासको उल्लेख्य मात्रामा प्रयोग हुने गरेको छ । पछिल्लो समय मकैको पनि निर्यात बढेको छ । अगस्टसम्ममा मात्रै चिनियाँले करिब दुई करोड ३० लाख टन अमेरिकी मकै खरिद गरिसकेका छन् । पाँच वर्षअघि सम्म दुई करोड टनमात्रै निर्यात हुँदै आएको थियो । 

‘सरकारको अनुदानले केही हुनेवाला थिएन । हामी आफ्नो उत्पादन निर्यात गर्न चाहन्थ्यौ । अहिलेको जस्तो मागको प्रतिक्षा थियो,’ आइओवाका किसान डेभ वाल्टन भन्छन् । चीनर्फ अमेरिकी कृषि उत्पादनको निर्यात बढेपनि दुई मुलुकबीचको सम्बन्धमा सुधार आएको छैन । ट्रम्पलाई प्रतिस्थापन गरेका राष्ट्रपति जो बाइडनले चीनसँगको नीतिमा पुनरवलोकन गरेका छैनन् । ट्रम्प प्रशासनले कयौँ चिनियाँ वस्तुमाथि बढाएको कर अहिले पनि कायम छ । अनि राष्ट्रपति बाइडनले दर्जनौँ चिनियाँ कम्पनीमा लगानी गर्नबाट अमेरिकी लगानीकर्तालाई बन्देज लगाएका छन् । 

अमेरिकासँगको सम्बन्ध नसुध्रिए पनि चीनले त्यहाँबाट आयात जारी राख्ला ? यसको उत्तर अहिले पनि पाउन गाह्रो भएको अमेरिकी कृषि अर्थविद् स्कट इरविन भन्छन् । ‘तर मलाई लाग्छ, चीनले तत्काल भने आयात बन्द गर्ने छैन,’ इलिनोए विश्वविद्यालयका इविन भन्छन्  । 

सन् २०२० मा अमेरिकासँग वार्ता गरेपछि चीनले आगामी दुई वर्षभित्र ८० अर्ब अमेरिकी डलर बराबरको कृषि वस्तु आयात गर्ने वाचा गर्‍यो । तर सन् २०२१ अप्रिलसम्मको तथ्यांक हेर्ने हो भने, चीन आफूले गरेको वाचा भन्दा २२ प्रतिशत कम रकम बराबरको आयात गरेको छ । तर आगामी महिनाहरूमा चीनतर्फका निर्यात उकालो लाग्ने लबी समूह, अमेरिकन फार्म ब्युरो फेडेरेसनको भनाई छ । 

चीनले अमेरिकी कृषि वस्तुको आयात बढाउनुको कारण अमेरिकासँग भएको प्रारम्भिक व्यापार वार्ता नभएको बताइन्छ । स्वाइन फ्लुका कारण चीनमा सुगुँर पालनमा कमी आएको र अहिले भने त्यहाँ विस्तारै सुगुँर उत्पादन बढेकाले अमेरिकी भटमास लगायतका वस्तुको माग बढेको बताइन्छ । ती वस्तु सुगुँरको आहारा रहने भएकाले निर्यात बढेको अमेरिकी अधिकारी बताउँछन् । 

सन् २०१८ मा अ‍ेमरिका र चीनबीच व्यापार युद्ध सुरु भएसँगै अमेरिकी किसानले पूर्वी एसिया, उत्तरी अफ्रिका र खाडीमा आफ्ना कृषि उत्पादनका लागि बजार खोज्ने प्रयत्न गरेका थिए । तर कुनै पनि त्यी बजारले चीनलाई प्रतिस्थापन गर्नसक्ने देखिएन । उता चीनले पनि भटमास जस्ता वस्तु अमेरिका बाहेक अन्य उत्पादक मुलुकबाट पनि आयात गर्ने प्रयास गरेको छ । 

जे होस अमेरिकी किसानका लागि ठूलो भर चिनियाँ बजारकै छ । निर्यात बढेसँगै उनीहरुले अमेरिकी सरकारसँग थप अनुदानको माग गरेका छैनन् । ‘चीनले हाम्रा उत्पादन खरिद गरिरहने हो भने हामी फाइदामा हुनेछौं । हो, हाम्रो आर्थिक अवस्थामा आकाश-पातालको फरक आउने छैन । तर हामी सहज अवस्थामा हुनेछौँ,’ वाल्टननको भनाइ थियो । (फाइनान्सियल टाईम्सबाट) 
 


Author

थप समाचार
x