अर्थ / बाणिज्य

‘हस्पिटल चेन’ बनाउँदै व्यवसायी उमेश श्रेष्ठ

इकागज |
जेठ २८, २०७८ १५:५६ बजे

काठमाडौँ : व्यवसायी उमेश श्रेष्ठले अस्पतालहरूको चेन बनाउने भएका छन् । यो वर्ष अस्पतालहरूमा उनले ५० करोड रुपैयाँ लगानी गर्न लागेका छन् । आगामी वर्षभित्र अस्पतालको चेनमा कम्तीमा पाँच अस्पताल बनाउने उनको योजना छ । 

शुरुवातमा शिक्षा व्यवसायी भएर ‘नाम र प्रसिद्धी’ कमाएका श्रेष्ठले पछिल्लो दशकमा भने धेरै क्षेत्रमा लगानी गरेका छन् । उनी प्रवर्धक भएका ९ जलविद्युत् आयोजना छन्, त्यी मध्ये अधिकांश निर्माणाधीन छन् । पर्यटनका क्षेत्रमा उनले चितवनमा सिराइचुली, सेन्ट्रल पार्क लगायत होटल, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्ट एण्ड वेलनेस सेन्टरमा लगानी गरेका छन् । पोखरामा उनको नयाँ होटल परियोजना शुरु भएको छ । कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ । 


पछिल्लो समय उनी अन्य क्षेत्रमा लगानी विस्तारको सम्भावना खोजिरहेका छन् । स्वास्थ्यमा लगानी गर्ने भन्ने उनको रूचि र प्राथमिकतामा परेको थिएन । स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी छ । मुलुकको स्वास्थ्य क्षेत्र (अस्पताल, मेडिकल कलेज, क्लीनिक, नर्सिङ होम, औषधी उद्योग) लगायत स्वास्थ्य सेवामा आवद्ध/अन्तर्निहीत सबै व्यवसायमा गरी निजी क्षेत्रले मात्रै दुई खर्ब रुपैयाँभन्दा धेरै लगानी गरेको अनुमान छ ।

‘शिक्षामा जस्तै स्वास्थ्यमा पनि निजी क्षेत्रको स्वास्थ्यमा ठूलो लगानी छ । निजी स्वास्थ्य संस्थामा खासगरी शुल्क र सेवाको गुणस्तरमा धेरै गुनासो छ । मेडिकल कलेजबारे पनि गुनासो छ,’ श्रेष्ठ भन्छन्, ‘यो सबै कारणले म विगतमा स्वास्थ्य क्षेत्रमा लगानी गर्न आकर्षित भइँन ।’ 

त्यसो भए अहिले उनी किन ‘हस्पिटल चेन’ बनाउने योजनामा उत्रे त ? जवाफमा उनी भन्छन्, ‘म जीवनमा पहिलोपटक सात दिन अस्पताल भर्ना भएँ । भाग्यले त्यसअघि पनि पछि पनि अहिलेसम्म मलाई अस्पतालमा बस्नुपरेको छैन । त्यहाँ बस्दा मलाई महशुष भयो कि हामीलाई राम्रो स्वास्थ्य सुविधा प्रदान गर्ने फरक अवधारणामा अस्पतालहरू सञ्चालन गर्न जरुरी छ । नाफामुखी भन्दा सेवामूलक रूपमा अस्पतालहरू सञ्चालन गरिनुपर्छ ।’ 

उनी कोभिड–१९ को पहिलो लहरमा संक्रमित भएर गत असोजमा सात दिन अस्पतालमा बिताएका थिए, यसले उनको अस्पताललाई हेर्ने, बुझ्ने र यस क्षेत्रमा काम गर्ने शैलीमा एउटा नयाँपन दिनुपर्छ भन्ने मनमा गढेको उनले बताए । 

उनकै अग्रसरतामा ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटीक अस्पताल खुल्ने भएको छ । अहिले उनले जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पतालको नेतृत्व गरिरहेका छन् । महेन्द्र नारायण निधी अस्पताल ट्रष्टको अध्यक्षता पनि गरिरहेका छन् । काठमाडौँ उपत्यकामात्र होइन चितवन, नुवाकोटमा पनि उनले अस्पताल सञ्चालन गर्ने योजना अघि बढाइसकेका छन् । नेपालमा निजी क्षेत्रबाट अत्याधुनिक अस्पताल खुल्ने क्रम जारी छ । तर ‘हस्पिटल चेन’ को अवधारणा भने नेपालमा नयाँ हो । 

उनले सञ्चालन गर्न लागेका अस्पतालहरू 'युनिफाइड कमाण्ड'मा सञ्चालन हुनेछन् । व्यवस्थापनको दृष्टिले र दक्ष जनशक्ति परिचालनको दृष्टिकोणले यो निकै उपयुक्त हुने उनले बताए । 

सबल नेटवर्क 

‘युनिफाइड कमाण्ड’मा अस्पताल सञ्चालन हुँदाको फाइदा उक्त चेनमा सञ्चालन हुने अस्पताललाई निगरानी र उपचार विधि सहजै सबैलाई हस्तान्तरण गर्न सकिन्छ । उनको नेतृत्वमा सञ्चालनमा रहेका जनमैत्री अस्पताल, महेन्द्र नारायण निधि अस्पतालले अहिले कोभिड–१९ का बिरामीको समेत उपचार गर्दै आएका छन् । जनमैत्रीमा ११० बेड र १०० बेड कोभिड–१९ का लागि समर्पित रहनेछ । दुवै अस्पताललाई उनले अत्याधुनिक अस्पताल बनाउने भएका छन् । महेन्द्र नारायण निधी अस्पताल ट्रष्टीहरूको दुई लाख देखि दुई करोड रुपैयाँसम्म लगानीमा सञ्चालन भएको हो, जसमा एक हजार ट्रष्टी छन् । 

एकान्तकुनामा खोल्न लागिएको हेलोइस अस्पतालले भने ‘हाइ इण्ड’ (उच्च आय वर्ग) लाई लक्षित गर्नेछ । एउटै ‘हस्पिटल चेन’ मा सञ्चालन हुने हुँदा हेलोइसका कहलिएका र दक्ष चिकित्सकहरू जनमैत्री, महेन्द्र नारायण निधी अस्पतालमा पनि सेवा दिनेछन् । ‘न्यून आय हुनेले पनि राम्रा चिकित्सकहरूको सेवा लिन सक्नेछन्,’ उनले भने, ‘यसपछि हामी मुग्लिङमा ट्रमा (रेफरल) अस्पताल र नुवाकोटमा पनि अस्पताल खोल्दैछौं ।’ 

श्रेष्ठका अनुसार, जनमैत्री र निधि अस्पताललाई अत्याधुनिक बनाउन नयाँ मेडिकल उपकरणहरू राख्न लागिएको छ । त्यसका लागि केही थान अक्सिजन जेनेरेटर्स र भेन्टिलेटर, सीटी स्क्यान मेसिनहरू युरोपबाट मगाइएको उनले बताए । ‘आपतकालमा सेवा दिन हवाईमार्गबाटै ल्याउँदैछौं,’ उनले भने, ‘यतिबेला हामी ‘बाँच र बचाउ’को अभियानमा छौं ।’ अहिले निधि अस्पतालमा ७ ओटा भेन्टिलेटर छन् । थप भेन्टिलेटर आइपुग्नेबित्तिकै जनमैत्री र निधि अस्पतालमा आइसीयु वार्ड बढाउने तयारी छ । कतिपय काम लाग्ने उपकरणहरू त्यी अस्पतालबाट अन्य सामुदायिक अस्पताललाई समेत हस्तान्तरण गरेर, टेलिमेडिसिन सेवा दिएर बिस्तारै एउटा ‘हस्पिटल सिस्टर्स हेल्थ सिम्टम’ विकास गर्ने योजना उनले सुनाए । उनले स्थापना गर्न लागेको चेन अस्पतालका भगिनी सम्बन्ध स्थापित भएका अस्पतालहरूको सञ्जाल देशभर विस्तार गर्ने सपना उनले देखेका छन् । 

अस्पतालका लागि दक्ष जनशक्तिको खोजीदेखि सरकारले बनाएको नियम अनुसार अक्सिजन प्लान्ट जडानको काम अघि बढीसकेको छ । श्रेष्ठले सञ्चालन गरेको ‘लिटल एन्जल्स स्कुल’ को आल्मुनाइमा ५०० भन्दा धेरै चिकित्सक रहेछन् । त्यसको उनले रोष्टर तयार गरिसकेका छन् । ‘कतिपय युरोप, अष्ट्रेलिया र अमेरिकाको राम्रा अस्पतालहरूमा कार्यरत छन् । आवश्यक पर्दा सघाउन तयार छन्,’ श्रेष्ठ भन्छन्, ‘टेलिमेडिसिनको सहायताले त्यहाँबाट पनि हामी नयाँ उपचार विधि, स्वास्थ्य अनुसन्धानमा भएका नयाँ–नयाँ ज्ञान भित्र्याउन सक्छौं ।’

त्यसो त जनमैत्री फाउण्डेसन अन्तर्गत नर्सिङ कार्यक्रम सञ्चालन छ । यहाँबाट बीएसस्सी मेडिकल ल्याब टेक्नोलोजी, बीएसस्सी फर्मा, बीएसस्सी नर्सिङ लगायतका कोर्स सञ्चालन छन्, हरेक वर्ष जनशक्ति उत्पादन भैरहेका छन् । तिनीहरूलाई आफ्नै सञ्जालका अस्पतालमा खपत गर्ने उनले सुनाए । जनशक्ति उत्पादनदेखि अस्पतालको सञ्जालसम्मको सम्पूर्ण इकोसिस्टमको योजना उनले सुनाए । ‘हेलोइस लगायतका अस्पताललाई बाहिरी मुलुकका अस्पतालको ‘एक्सिलेन्स’ उपयोग गर्न सक्नेगरी विकास गर्ने, त्यस्तै अर्धसहरी र ग्रामीण क्षेत्रमा खोलिएका, भगिनी सम्बन्ध भएका अस्पताललाई पनि यहाँका राम्रा अस्पतालबाट टेलिमेडीसिन सेवा दिनेबारे पनि अध्ययन गर्दैछौं,’ उनले भने । 

शिक्षामा ४२ वर्ष 

शिक्षण पेशा र व्यवसायमा जीवनका ४२ वसन्त बिताएका श्रेष्ठको शिक्षा क्षेत्रमा अझै काम गर्ने मोह भने अझै भङ्ग भएको छैन ।  अझै पनि उनलाई विश्वविद्यालय, मानित विश्वविद्यालय (डिम्ड युनिभर्सिटी), प्राविधिक र व्यावसायिक शिक्षण संस्थाहरू सञ्चालन गर्ने इच्छा छ । यसका लागि उनले पहल पनि गरे तर अनुमति पाएनन् । आफैं दुई पटक विधायक भएर पनि शिक्षाको नीति परिवर्तनका लागि पहल गरेको बताउँछन्, उनी । 

‘मुलुक संघीय संरचना प्रवेश गरिसक्दा पनि २०२८ सालकै शिक्षा ऐन अनुसारको व्यवहार छ,’ उनी भन्छन्, ‘संविधानमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले के–के गर्ने भन्ने स्पष्ट खाका तयार गरेर राखियो । तर अहिलेसम्म पनि संघीय संरचना अनुसार शिक्षामा परिवर्तन गर्न सकिएन ।’

आफू सार्वजनिक विद्यालयमा अध्ययन गरेकाले पनि श्रेष्ठ सार्वजनिक शिक्षण संस्थाहरूलाई सशक्तीकरण गर्नुपर्छ भन्ने मान्यता राख्छन् । ‘निजी शिक्षण संस्था र सार्वजनिक शिक्षण संस्थामा कहींकतै प्रतिस्पर्धा छैन, निजी क्षेत्र परिपूरकको भूमिकामा मात्रै छ, विस्तार हुनै पाएको छैन,’ उनले अगाडि भने, ‘वार्षिक बजेटको झण्डै साढे १० प्रतिशत स्रोत खर्च हुने सार्वजनिक शिक्षण संस्थाबाट हामीले राम्रो उपलब्धि निकाल्न सके मात्र उक्त स्रोतसाधनको उपयोग प्रभावकारी रहेको मान्न सकिन्छ । शिक्षाको गुणस्तर सुधार नगरी दक्ष जनशक्ति कसरी उत्पादन हुन्छ ?’ आज पेशागत र व्यवसायिक क्षेत्रलाई नेतृत्व दिन निजी शिक्षण संस्थाले उत्पादन गरेका जनशक्तिको ठूलो हात भएको उनी दाबी गर्छन् । 

उच्च शिक्षामा अहिले वार्षिक ४२ अर्ब रुपैयाँ मुलुकबाहिर गइरहेको छ । निजी क्षेत्रलाई ठाउँ दिने हो भने शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र नेपाललाई बनाउन सकिने दृढ विश्वास उनमा छ । नेपाली विद्यार्थीहरू जाने देशका राम्रा विश्वविद्यालयको सम्बन्धनमा कलेजहरू खोल्न उनीहरूलाई नै आमन्त्रण गर्न सकिने उनले उल्लेख गरे ।
‘शिक्षामा आमूल परिवर्तन भयो भने युवा पलायन रोकिन्छ,’ उनले आशावादी हुँदै भने, ‘हाम्रो मुलुकलाई अवसर नै अवसरको मुलुकमा परिणत गर्न सकिन्छ ।’ हाम्रो मुलुकमा अवसर छ भन्ने एउटा उदाहरण आफैं भएको बताउन श्रेष्ठ पछि पर्दैनन् । हुन पनि ४२ वर्षअघि भोजपुरबाट काठमाडौँ आउँदा उनको साथमा जम्मा दुई हजार रुपैयाँ थियो, आज उनी दुई हजार करोड रुपैयाँका मालिक छन् । व्यवसाय शुरु गर्दा पनि उनको ठूलो आकांक्षा थिएन । सामान्य सानो स्कुल चलाउने भनेर उनले स्कुलको नाम पनि ‘लिटल एन्जल्स’ स्कुल राखेको बताउँछन् । उनको व्यवासायिक अनुभवले इमानदार मेहनत र परिश्रमले सफलता दिने बताउँछ । 

आकांक्षा

रोजगार प्रधान र उद्यमशीलता केन्द्रित प्राविधिक र व्यवसायिक शिक्षा, विशिष्टता (एक्सिलेन्स) नेपाल भित्र्याउने आकांक्षामा श्रेष्ठ इजरायलदेखि डेनमार्क, युरोपदेखि अष्ट्रेलियासम्म पुगे । इजरायलको कृषि प्रविधि ल्याएर यहाँ युवाको जीवनमा रूपान्तरण ल्याउने सोचसहित उनी त्यहाँ पुगेका थिए । 

‘प्राविधिक र व्यावसायिक शिक्षामा ठूलो स्कोप छ, तर न यस क्षेत्रमा सरकारले काम गर्छ । गर्छु भन्दा निजी क्षेत्रलाई पनि काम गर्न अनुमति पाउँदैन । उपयुक्त योजना, नीति र लगानीको कमीका कारण गरिब भएर बाँच्नुपर्ने स्थिति छ,’ उनले तीतो अनुभव बाँड्दै भने, ‘हामीले यस प्रकारको शिक्षामा विशिष्टता कमायौं भने हामी आफ्ना नागरिकको जीवन रूपान्तरणमात्र होइन, अहिले अष्ट्रेलिया, अमेरिका, क्यानडा, भारतले गरेजस्तै बाह्य देशबाट विद्यार्थी ल्याएर पढाउन सक्छौं । यो हाम्रो आयस्रोतको ठूलो माध्यम बन्न सक्छ ।’ 

शिक्षामा आफ्नो सोच अनुसार प्राविधिक र व्यावसायिक शिक्षा, विश्वविद्यालय विकासमा काम गर्न अनुमति नपाएपछि झण्डै दशकअघि उनले अनुमति पर्खेर समय खेल नफाल्ने सोच सहित व्यवसाय विविधिकरणमा लागे । त्यसपछि उनको अर्को व्यावसायिक उडान शुरु भयो । उनले शिक्षाका अतिरिक्त जलविद्युत्, पर्यटन कृषि, बैंकिङ्ग क्षेत्रमा लगानी विविधिकरण गरे । अझै पनि उनलाई शिक्षामा काम गर्ने भोक मरेको छैन । 

तर यसैबीचमा गत वर्षदेखि मुलुक कोभिड–१९ महामारीले आक्रान्त भयो । ‘श्वासप्रश्वासजन्य रोग निम्त्याउने यो महामारीपछि एक व्यक्तिले अर्कोलाई भेट्दा पनि सतर्क हुनुपर्ने, प्रोटोकल पालना गर्नुपर्ने भयो । म आफैं पनि पहिल्यै संक्रमित भएँ,’ उनले कुराकानीको बिट मार्दै भने, ‘महामारीका नयाँ–नयाँ लहर नयाँ–नयाँ स्वरूपमा प्रकट भैरहेको छ । कहिले अन्त्य हुन्छ भन्ने थाहा छैन । यसले मलाई ‘बाँच र बचाउ’ को अभियानमा लाग्न प्रेरित गरेको हो ।’ 

व्यवसायिक दृष्टिकोणभन्दा पनि सेवाको भावनाले अस्पताल खोल्ने निर्णयमा पुगेको बताउँदै उनले यसलाई गैर नाफामूलक मोडलमा फाउण्डेसनमार्फत् सञ्चालन गर्ने बताए । 
 



Author

थप समाचार