बाँसबारी जग्गा प्रकरणलाई जोड्दै निर्वाण चौधरीको प्रश्न : यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ?
काठमाडौँ- चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले राजनीतिक स्वार्थसिद्ध गर्न भइरहेको कामबारे असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सरकारले दु:ख दिइरहेको संकेत गरेका छन् ।
'केही समयदेखि बाँसबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्न । न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ' चौधरीले लेखेका छन् 'म यतिमात्रै भन्न चाहन्छु कि तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरू भइरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक सबैले आत्मसमिक्षा गरौं ।'
नेपाली कांग्रेसबाट सांसदसमेत जितेका डलर अर्बपति विनोद चौधरीले केहि दिनअघि मात्रै बासबारी जग्गाको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीमा बयान दिएका थिए । सरकारी जग्गा हिनामिना गरेको आशंकामा सिआइबीले विनोदसँग बयान लिएको थियो । निर्वाणका बुबा हुन् विनोद ।
बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा उद्योगी विनोदले इन्कारी बयान दिएका थिए । उनले बाँसबारी छालाजुत्ताको सरकारी जग्गा कानुन बमोजिम नै हालको सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको बयान दिएका थिए । विनोदले आफूहरू पूरानो व्यापारिक घराना र थुप्रै रोपनी जग्गा आफ्नो रहेकाले सरकारी जग्गा हडप्न नपर्ने बयानपछि सञ्चारकर्मीहरूसँग बताएका थिए ।
आज निर्वाणले विनोदकै भाषामा लामो स्ट्याटस लेखेका छन् । '१८० वर्ष पहिले टाटा समूह भारतमा आयो । आज भारतीय अर्थतन्त्रमा ठूलो योगदान दिनुका साथै भारतका लागि गौरव बनेको छ यो व्यापारीक घराना । १५० वर्षअघि नेपाल आएको हाम्रो परिवारको छैठौं पुस्ता पुगेको छ'निर्वाणले लेखेका छन् ।
निर्वाणले नेपालको कुल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशत योगदान रहेको दाबी गरेका छन् ।
'नेपालको कुल राजश्वमा करिव २ प्रतिशत योगदान, देशको सबैभन्दा ठूलो रोजगारदाता, नेपाल बाहिर पनि तीब्र व्यापार विस्तार गरेर नेपाली चन्द्र-सूर्य अङ्कित राष्ट्रिय झण्डालाई विश्वमन्चमा फैलाइरहेका छौं । हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौँ' उनले भनेका छन् 'देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निस्वार्थ सहायताको कार्यमा हामी सबैभन्दा अगाडि छौं भन्दा बडो आत्मसन्तुष्टि हुन्छ । भूकम्पका बेला होस्, कोरोना वा यस्तै अन्य कुनै आपतकालीन समयमा हामी निसंकोच जनताको सेवामा जोडिदै आएका छौं। हाम्रो विश्वसनीयता र उत्कृष्ट ट्याक रेकर्डकै कारण त हामीसङ्ग हार्वर्ड बिजिनेस स्कूल, बिल र मेलिन्डा गेट्स फाउन्डेशन वा टाटाहरूलगायतले सहकार्य गर्दै आएका छन् ।'
'आज यो देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हीत कसले गर्छ भन्नेबारे युवाहरूले एकपटक आफैलाई प्रश्न सोध्नेबेला भएको छ । के युवाहरू स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् ?' उनले प्रश्न गरे 'आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? एकपटक आत्ममन्थन गरौं । यो देशलाई समृद्धी र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास मेरो छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया