विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजर लगानी सम्मेलनमा आउने
काठमाडौँ- विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागी हुन नेपाल आउने भएका छन् ।
विश्व बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका थिए ।
औपचारिक रूपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रूपमा पनि निम्तो दिएका हुन् ।
जवाफमा रेजरले निमन्त्रणाका लागि धन्यवाद दिँदै आफू लगानी सम्मेलनमा सहभागी हुने बताए । यस्तै उनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत लगानी सम्मेलनमा आउन प्रोत्साहित गर्ने बचन दिए । ‘मलाई निमन्त्रणा गर्नुभएकोमा धन्यवाद दिन्छु र काठमाण्डौंमा भेट्ने बाचा गर्छु,’ मन्त्री पुनसँग रेजरले भने ।
उपाध्यक्ष रेजरले लगानी सम्मेलनका क्रममा नेपालका अधिकारीहरूसँग हुने औपचारिक र अनौपचारिक भेटमा नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए । अर्थमन्त्रीले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।
लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी उनले दिए । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको भन्दै विश्व बैंकसहित विकास साझेदार बताउँदै उनले विश्व बैंकसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । तेस्रो लगानी सम्मेलन आगामी ०८१ वैशाख ९ र १० गते काठमाडौँमा हुँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया