अर्थ / बाणिज्य

शौचालय निर्माणमा भ्रष्टाचार गर्ने पूर्वगाविस सचिवविरुद्ध मुद्दा

इकागज |
जेठ ३०, २०७८ आइतबार १६:२८ बजे

काठमाडौँ : शौचालय निर्माणदेखि विभिन्‍न कार्यक्रममा भष्टाचार गरेको आरोपमा साविकको अमलेखगञ्‍ज गाउँ विकास समितिका तत्कालीन गाविस सचिव विजयकान्त झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल त्यो गाविस जीतपुर सिमरा उप-महानगरपालिका कायम छ । झाले भ्रष्टाचार गरेको ठहरसहित आयोगले मुद्दा दायर गरेको हो ।

झाविरुद्ध दुई लाख ८१ हजार रुपैयाँ बिगोसहित भ्रष्टाचार गरेको आरोप छ । आर्थिक वर्ष २०७०/०७१ र २०७१/०७२ को आयव्यय पारदर्शी नगरेको, लक्षित वर्गलाई वितरण गर्नुपर्ने रकम वितरण नगरेको, मनोमानी ढंगले गाउँ परिषद् नभएको योजना उपभोक्ता समिति गठन नगरी किर्ते बिल बनाई किर्ते सहिछाप गरेको आरोपपत्रमा उल्लेख छ । आयोगको अनुसन्धानमा  झाले कल्भर्ट मर्मत तथा निर्माण कार्य र नाला खन्ने तथा कुलो निर्माण गर्ने कार्यमा वास्तविक भएको कार्यको लागतभन्दा १ लाख ३४ हजार रुपैयाँ बढी भुक्तानी गरेको देखिएको आयोगले जानकारी दिएको छ । 

गाविसमा लक्षितवर्ग अन्तर्गत शौचालय र महिलाको सिलाई कटाई तालिम शीर्षकमा लेखापरीक्षण प्रतिवेदन अनुसार निकासा भएको २ लाख ९१ हजार रुपैयाँ खर्च गरेको देखिएतापनि सो खर्चमध्ये एक लाख ४७ हजार रुपैयाँ  बिल भरपाई पेस गरेको नदेखिएको आयोगले बताएको छ । आयोगले आइतबार काठमाडौँ विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।



Author

थप समाचार
x