अर्थ / बाणिज्य

निषेधाज्ञाले छोएन बाह्य कारोबारलाई

आयात बढ्दा शोधनान्तर स्थिति ३४ अर्बले घट्यो

इकागज |
जेठ ३१, २०७८ सोमबार १७:१० बजे

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहर नियन्त्रण गर्न लगाइएको देशव्यापी निषेधाज्ञाको असर बाह्य कारोबारमा कम देखिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार १० महिनामा निषेधाज्ञाले बाह्य कारोबार खासै प्रभाव नपारेको देखाएको हो । 

पछिल्लो नौ महिनाको तुलनामा १० महिनामा शोधनान्तर स्थिति अघिल्लो महिनाको तुलनामा ३४ अर्ब ७९ करोड रुपैयाँले घटेको छ । गत चैतसम्म शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँ थियो । बैशाखमा यो सात अर्ब ७५ करोड रुपैयाँ बचत कायम छ ।

कोभिड-१९ को पहिलो लहर नियन्त्रण गर्न सरकारले मुलुकभर पूर्ण लकडाउन जारी गर्दा आयात ठप्प जस्तै थियो । जसले विदेशी विनिमय सञ्‍चिति थुप्रिदै गएको थियो । रेमिट्यान्स आप्रवाहमा निरन्तरता कायम हुँदा मुलुकमा भित्रिने रकम थुप्रिदै गएको थियो । तर, यसपालि निषेधाज्ञाको 'रिभर्स इफेक्ट' बाह्य कारोबारमा देखिएको हो ।

यस अवधिमा आयात २२.३ प्रतिशतले बढेको छ । रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा १६.१ प्रतिशतले बढ्दा विदेशी विनिमय सञ्‍चितिमा वृद्धि देखिएको छ । कुल विदेशी विनिमय सञ्‍चिति ११ अर्ब ८७ करोड रुपैयाँ छ । 

गत असारसम्म सञ्‍चिति ११ अर्ब ६५ करोड अमेरिकी डलर थियो । तर, नेपालको विनिमय दरअनुसार सञ्‍चिति घटेको देखिन्छ । यस्तो सञ्‍चिति बैशाखसम्म १३ खर्ब ९० अर्ब रुपैयाँ छ । जबकी असार मसान्तसम्म सञ्‍चिति १४ खर्ब एक अर्ब रुपैयाँ थियो । 

अमेरिकी डलरसँग नेपाली मुद्रा २.७ प्रतिशतले अधिमूल्यन भएको छ । गत असारमा विनिमय दर एक सय २० रुपैयाँ ३७ पैसा थियो । बैशाख मसान्तसम्म आइपुग्दा यो एक सय १७ रुपैयाँ १८ पैसा पुगेको छ ।

बैशाखसम्मको आयातलाई आधार मान्दा सञ्‍चिति ११.४ महिनाको वस्तु आयात धान्न पुग्ने राष्ट्र बैंकले जानकारी दिएको छ । जबकी चैतसम्मको आयातको अवस्था हेर्दा त्यतिबेलाको सञ्चिति ११.९ महिनाको आयात धान्न पर्याप्त थियो । 

गत चैतको तुलनामा महँगी ३.१० प्रतिशत थियो । बैशाखमा महँगी दर ३.६५ प्रतिशत छ । अघिल्लो वर्ष बैशाखमा यस्तो मुद्रास्फिती ५.८३ प्रतिशत थियो । 



Author

थप समाचार
x