अर्थ / बाणिज्य

तरलताको चाप बढ्यो, बैंकहरूले बढाए निक्षेपमा ब्याज

इकागज |
असार २, २०७८ बुधबार १३:३६ बजे

काठमाडौँ : असार १ बाट लागू हुने गरि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् ।  बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।

कोभिड-१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न बैशाखमा सरकारले देशव्यापी निषेधाज्ञा लगाएपछि बैंकले लगानी गर्न सकेका थिएनन् । जेठमा बैंकहरूले त्यसबेला मुद्दती खातामा ६ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरेका थिए । तर, अहिले ऋणको माग बढेपछि बैंकले मुद्दती खातामा ७.६ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गर्न थालेका छन् ।


ऋणको माग बढेको र मागअनुसारको निक्षेप संकलन हुन नसकेपछि बैंकहरूले ब्याजदर बढाउन बढाउन थालेका छन् । गत जेठमा बैंकहरूले मुद्दती घटाएर ६ प्रतिशतसम्म पुर्‍याएको थियो । तर, कर्जा प्रवाह बढाइरहेको अवस्थामा निक्षेप संकलनमा कमी आयो । तरलतामा चाप पर्ने देखिएपछि बैंकहरूले मुद्दतीमा ब्याजदर बढाएका हुन् । 

गत जेठ १४ मा नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकले कर्जा विस्तार भइरहेको देखाएको छ । पछिल्लो समय आयातमा भइरहेको वृद्धिले प्रतीतपत्र (एलसी) भुक्तानीका लागि पनि कर्जा विस्तार भइरहेको छ । 


Author

थप समाचार
x