Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

अर्थ / बाणिज्य

सिनामंगलमा मेलम्चीको पानीको पाइप फुट्दा चार दिनदेखि सडक ठप्प [फोटो/भिडियो]

शुरज थपलिया |
बैशाख ३०, २०८१ आइतबार २१:१३ बजे

काठमाडौँ -  मेलम्चीको पानी काठमाडौँ आएपनि नागरिकले सहज रुपमा उपभोग गर्न पाएका छैनन् । कहिले मेलम्चीको मुहानमा पहिरो गएर पानी काठमाडौँ आउनै अवरोध हुन्छ त कहिले काठमाडौँमा बिछ्याइएका पाइपहरू फुटेर पानी सर्वसाधारणको घरमा पुग्दैन । 

हिउँदमा मात्रै पानी आउने मेलम्चीको पाइप पछिल्लो समय विभिन्न ठाउँमा फुट्ने गरेको छ । जसका कारण सर्वसाधारणले पानी नपाउने त छँदै छ पाइप फुटेका स्थानका सर्वसाधारणले पनि विभिन्न समस्याहरू भोग्नु परिरहेको छ । 


विगत चार दिनदेखि काठमाडौँको सिनामंगलको भत्केपुल नजिकै मेलम्ची खानेपानीको पाइप फुटेर सडक नै बन्द भएको छ । सडक नै भासिएर खानेपानीको पाइपमा क्षति भएपछि मर्मतका लागि चार दिनदेखि सडक ठप्प भएको हो । 

बन्द सडकका कारण यात्रीहरूले सास्ती व्यहोर्नु परिरहेको छ । सोही रुट हुँदै यात्रा गर्ने झरना घिमिरेले चार दिनदेखि बाटो बन्द भएका कारण सास्ती भएको गुनासो गरिन् । 'सधैं यहीँ रुट हुँदै अफिस जाने गर्थे' उनले भनिन्' 'चार दिनदेखि बाटो अवरुद्ध हुँदा सिनामंगल गौशाला बत्तीसपुतली हुँदै अफिस पुग्ने गर्छु ।' जामले पनि त्यतिकै गाह्रो बनाएको उनले बताइन् । ​

स्थानीयवासी रामनाथ लामाले मेलम्चीकाे खानेपनी बिछ्याइएको स्थानहरूमा सडक भासिन थालेकाले धेरै चिन्ता लाग्ने गरेको बताए । 'कुन दिन हाम्रो घर नै भासिने हो कि भन्ने चिन्ता भयो', उनले भने । 

एक महिनाको बीचमा सोही सडकखण्डको ७ सय मिटर पश्चिममा मेलम्ची खानेपानीको पाइप फुटेको थियो । केही समयअघि मैतीदेवीमा पनि बिजुलीको तार अन्डरग्राउण्ड गर्ने क्रममा खन्दा मेलम्चीको पाइप फुटेको थियो । 

पाइप फुटेपनि समयमै मर्मत नगर्दा स्थानीय र यात्रुहरूले दुख पाएका छन् । काठमाडौँ-९ का वडा सदस्य श्रीराम राईले पाइप फुटेको र मर्मतको काम भइरहेको बताए । 'हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरूसँग कुरा गरेका छौँ ' उनले भने, 'केही दिनमा मर्मतको काम सकिन्छ ।' 

यता काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका सूचना अधिकारी रमेश केसीले भने यसबारे आफूलाई केही थाहा नभएको बताए । उनले आयोजना कार्यान्वयन निर्देशनालयले नै सबै काम हेरिरहेकाले आफूहरूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । 

हेर्नुहाेस् भिडियो


Author

थप समाचार
x