काठमाडौँ-ललितपुर महानगर
कवाडी कर: ‘दुर्घटनाको पासो’ बन्दै कोटेश्वर-कलंकी सडक खण्ड
कर संकलकले दैनिक सय सवारीसाधनबाट राजश्व उठाउँदै
काठमाडौँ- कोटेश्वर र कलंकी सडकखण्डमा काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले कवाडी कर संकलन गरिरहेको छ । दुवै महानगरपालिकाले कवाडी कर संकलन गर्न बोलपत्र आव्हान गरी निश्चित कम्पनीलाई दिएको छ ।
बालकुमारी पुल वारि काठमाडौँ महागनरले र पुल पारी ललितपुर महानगरपालिकाले कवाडी कर संकलन गर्छ । मारुती ढुवानी सेवा प्रालिले काठमाडौँमा र ललितपुर महागनरमा इन्द्रेणी हार्डवेयर एण्ड सेनेटरीवेयर प्रालिले कर संकलन गर्ने गरेको छ ।
दुवै कम्पनीले निजी सेक्युरिटी गार्ड कम्पनीलाई कर संकलन गर्न दिएको छ । सडकको सामान्य नियम थाहा नपाएका व्यक्तिले कवाडी कर संकलन गर्दा सडक दुर्घटना बढ्ने जोखिम बढ्दै गएको छ ।
जथाभावी सवारीसाधनलाई रोकी चेकजाँच गर्दा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । कवाडी बोकेका र नबोकेका सवारीसाधनलाई रोकेर चेकजाँच गर्ने गरेका छन् ।
सडकमा तीव्र गतिमा गुडिरहेका सवारीसाधनलाई रोक्दा सडक दुर्घटना बढ्ने कोटेश्वरबाट कलंकीतर्फ गइरहेको एक पिकअप चालक श्याम लामा बताउँछन् । उनको सवारीलाई रोके तर सो सवारीसाधनले भने कुनै पनि कवाडी ओसारपसार गरेको थिएन ।
‘कोटेश्वर-कलंकी सडक खण्डमा साताको तीन पटक ओहोरदोहोर गर्छु,’ उनले भने,’ काम गर्ने मानिसहरू लाने लैजाने गर्छु । फर्कँदा रित्तो हुन्छ र कवाडी बोक्ने जस्तै लागेर रोकेर चेकजाँच गर्छन् । यसरी जुनसुकै सवारीसाधनलाई चेकजाँच गर्दा दुर्घटना हुन सक्छ । कर संकलन गर्ने भन्दा दुर्घटना गराउने पासो बन्दै गएको छ ।'
कवाडी कर लिनलाई सडकमा निश्चित केन्द्र बनाउनु पर्ने उनले सुझाव दिए । जुनसुकै सवारीसाधनलाई एक्कासि सडकमा रोक्दा दुर्घटना बढ्ने जोखिम हुने लामाको भनाइ छ ।
स्थानीय प्रवेश श्रेष्ठले सम्बन्धित निकायले सडकमा जथाभावी चेकजाँच गर्दा र सवारीसाधनलाई व्यवस्थापन गर्न नसके ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था आउने सक्ने बताए । उनले कोटेश्वर-कलंकीको आठ लेन सडकमा सवारीसाधन तीव्र गतिमा चल्ने गरेकाले यसलाई स्थानीय सरकार तथा सरोकारवाला निकायले नियमन गर्नुपर्ने बताए ।
कर उठाउने निश्चित केन्द्र बनाएर कर केन्द्र बनाउनुपर्ने उनले सुझाव दिए । बीच बाटोमा बसेर हात उठाएर सवारी रोक्दा व्यवस्था कमजोर देखिने उनको भनाइ छ ।
ललितपुर महानगरपालिकाका तर्फको बालकुमारी पुल नजिक बसेर इन्द्रेणी हार्डवेयर एण्ड सेनेटरीवेयर प्रालिले कर संकलन गरिरहेको छ । उक्त कम्पनीले दैनिक करिब सय वटा सवारीसाधनबाट कवाडी कर संकलन गर्ने गरेको एक कर्मचारीले जानकारी दिए ।
‘हामीले सबै सवारीसाधनलाई रोक्दैनौ । कवाडी बोकेको र शंका लागेका पिकअप ठूला तथा साना ट्रकलाई रोक्ने गरिएको छ,’ उनी भन्छन्,’ सडक किनारामा बसेर रोक्न इशारा दिन्छौ । हामी दुर्घटना नहोस भनेर परबाट आइरहेका कवाडी बोकेको सवारीसाधनलाई रोक्छौ ।‘
त्यसैगरी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले कवाडी कर संकलन गर्ने व्यक्तिहरूले सडक सुरक्षा मापदण्ड अपनाएर काम गरिरहेको बताए । कस्ता-कस्ता सवारीसाधनलाई रोक्नुपर्छ त्यो ज्ञान सम्बन्धित व्यक्तिलाई भएको उनको भनाइ छ ।
सडक दुर्घटना नहोस भनेर सबै पक्ष जिम्मेवारी हुनुपर्ने प्रवक्ता श्रेष्ठले इकागजलाई बताए ।‘कोटेश्वर-कलंकी सडकखण्डमा तीव्र गतिमा कुदाउनेलाई कारबाही गर्न क्यामेरा जडान गरिएको छ,’ उनले भने ।
उनका अनुसार सवारीसाधनको तीव्र मापन गर्न राडर गन जडान गरिएको छ । पहिलोपटक भए पाँच सय रुपैयाँ जरिवाना लिइन्छ । दोस्रो पटक जरिवाना शुल्क बढ्नेछ ।
काठमाडौँ महानगरको तर्फबाट कवाडी कर संकलन गर्ने जिम्मा पाएको मारुती ढुवानी सेवा प्रालिको सञ्चालकलाई सडकमा कुँदिरहेका जुनसुकै सवारीसाधनलाई नरोक्नु भनेर सिकाइएको छ छैन भनेर फोन सम्पर्क गर्न खोज्दा रिसिभ भएन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया