अर्थ / बाणिज्य

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

इकागज |
जेठ १, २०८१ मंगलबार २१:१५ बजे

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवाहक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ । दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्बन्ध विस्तार एवं लगानी प्रवर्द्धनबारे छलफल भएको हो । 

डा डोमजाल्स्कीसंगको भेटका क्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले नेपालको ग्रीन हाइड्रोजनमा लगानीका लागि आग्रह गरे । अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ग्रिन हाईड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै ग्रीन हाइड्रोजनको माग उच्च छ । पोल्याण्ड नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक भएकाले पनि नेपाल लगानीका लागि आकर्षक गन्तव्य भएको जानकारी गराउँछु ।’


नेपालमा अन्तराष्ट्रिय लगानी लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको अध्यक्ष अग्रवालले बताए । उनले नेपालको जलविद्युत, पर्यटन, खानी लगायतका क्षेत्रमा लगानी लगानीका लागि डा सेवास्टीयन समक्ष आग्रह गरे । उनले पर्यटकीय आकर्षक गन्तव्यहरू समेत धेरै भएकाले पोल्याण्डका नागरिकलाई नेपाल भ्रमणमा आउने वातावरण बनाउन समेत डा सेवास्टीयन समक्ष आग्रह गरे ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा आवासीय कार्यवाहक राजदूत डा. सेवास्टीयनले नेपालको चिया र कफीको बजार सम्भावना खोज्न सकिने बताए । दुई देशबीचको कूटनीतिक सम्बन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले पनि फाइदा खोज्नुपर्ने उनको भनाई छ ।

आवासीय राजदूत डा सेवास्टीयनसँगको भेटमा अध्यक्ष अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्षहरू उर्मिला श्रेष्ठ, दिपक श्रेष्ठ, निलकण्ठ चौलागाई एवं सन्तोस पाण्डे सहभागी थिए । यस्तै पोल्याण्डका लागि नेपालका कन्सोल जेनेरल लोकमान्य गोल्छाले नेपालको राम्रो कूटनीतिक सम्बन्ध भएको पोल्याण्डमा निर्यातको प्रचुर सम्भावना रहेको बताए । 


Author

थप समाचार
x