अर्थ / बाणिज्य

बजेटबारे अर्थविद्हरूको टिप्पणी: भरोसा र विश्वास जगाएर लक्ष्य पूरा गर्न सक्दैन

इकागज |
जेठ १६, २०८१ बुधबार १७:१ बजे

काठमाडौँ - नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले बाहिर बजारमा हल्ला आएको भन्दा कम आकारको बजेट आएको बताएका छन् । 

आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटलाई लिएर रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अर्थविद्हरूसँग साक्षात्कार कार्यक्रममा क्षेत्रीले सो कुरा बताएका हुन् । उनले राजश्वको लक्ष्यसमेत चालु आर्थिक वर्षको भन्दा कम रहनु राम्रो पक्ष भएको भन्दै ऋण सही ठाउँमा उपयोग हुनुपर्ने बताए । सही ठाउँमा ऋण प्रयोग नभएको खण्डमा आगामी दिनमा अर्थतन्त्रमा असर देखिने उनको भनाइ छ । उनले सरकारले अहिले औषधी प्रयोजनको निमित्त गाँजा खेतीका बारेमा पनि बजेट समावेश गर्नु सकारात्मक भएको धारणा राखे । उनले सरकारले नेपाल वायु सेवा निगमलाई अभिभावकीय भूमिका प्रदान गर्नुपर्ने र भ्रष्टाचारलाई निर्ममता पूर्वक नियन्त्रण गर्नुपर्ने बताए । 


यस्तै पूर्व मुख्यसचिव डा.विमल कोइरालाले बजेट एकदमै राम्रो आओस् र प्रशंसा गर्न पाइयोस् भनेपनि सोचेजस्तो नआएको बताए । बजेट बनाउने हो भने साढे १७ देखि १८ खर्बभन्दा माथि जान नहुने उनको भनाइ छ । उनले अहिले आएको बजेटका आधारमा सार्वजनिक खर्च व्यवस्थापन गर्न नसकिने र वित्त सन्तुलनमा प्रतिकूल प्रभाव पर्ने आफ्नो आँकलन रहेको धारणा राखे ।  

अर्थविद् डिल्लीराज खनालले निरन्तरता र नयाँपनको अन्तर्विरोधबाट बजेट आएको टिप्पणी गरे । बजेटले भरोसा र विश्वास जगाएर लक्ष्य पूरा गर्न नसक्ने भन्दै नेपालको अवस्था र स्थिति, सामर्थ्यकाे आधारमा अहिलेको बजेट यथार्थभन्दा टाढा रहेको बताए । राजश्व कम अनुमान गरे पनि स्रोत सुनिश्चितता नहुँदा उठ्छ कि उठ्दैन भन्ने प्रश्नचिन्ह कायमै रहेको उनको धारणा छ । 

कार्यक्रममा अर्थविद् डा.चन्द्रमणि अधिकारीले बजेटको उद्देश्य र प्राथमिकतामा हेर्दा विमति राख्नुपर्ने केही कुरा नरहेको बताए । उनले अर्थतन्त्रको सूचक, उत्पादन, उपभोग, खर्च र आयको स्तर सबै संकुचनमा रहेको भन्दै लक्ष्य अनुसारको राजश्व उठ्नसमेत गाह्रो रहेको बताए । 


Author

थप समाचार
x