पूर्वाधार

काठमाडौँ उपत्यकामा हुने धार्मिक जात्राले मेट्रो रेलको डिपिआर रद्द

इकागज |
जेठ ३१, २०८१ बिहीबार १२:५३ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ उपत्यकामा विभिन्न समुदायले मनाइने धार्मिक जात्राको कारण मेट्रो रेलको डिपिआर रद्द भएको छ । उपत्यकाबासीको रेल चढ्ने सपना सपनामै मात्र सीमित रहने भएको छ ।  उपत्यकामा चलाउने मेट्रो रेलको डिपिआर रद्द भएपछि काठमाडौँमा रेल चढ्ने आम मानिसको सपना चकनाचुर भएको हो । 

काठमाडौँवासीको मेट्रो रेल चढ्ने सपना तुहिएको रेल विभागका सूचना अधिकारी सिडिई कमल कुमार शाहले बताए । ‘मेट्रो रेलका लागि बनाइएको डिपिआर रद्द भयो’, उनले भने, ‘कुनै पनि काम अगाडि बढेको छैन ।’ 


ललितपुर महानगरपालिकामा चल्ने रातो मछिन्द्रनाथको जात्रा मेट्रो रेल मुनिबाट तान्नुपर्ने अवस्था आएपछि मेट्रो रेलको डिपिआर रद्द भएको उनको भनाइ छ ।

ललितपुरका मेयरले मेट्रो रेल मुनिबाट जात्रा चलाउनै सकिन्न रेल चलाउने भए जमिनमुनिको डिपिआर बनाएर ल्याउनुस् भन्नुभयो मेयरको भनाइ उद्धृत गर्दै उनले भने, ‘त्यसपछि डिपिआर रद्द भयो अरु कुनै काम अगाडि बढेको छैन ।’ 

मेट्रो रेलका लागि स्थान पनि नभएको उनले बताए । उपत्यकाका सबै स्थानमा घरहरू बनिसके खाली ठाउँ नै छैन । जमिनमुनिबाट रेल कुदाउने सम्भावना पनि कम भएको उनले बताए । 'माथि माथि सबै घर बनिसक्यो तल कसरी रेल कुदाउन सकिन्छ र ?,' उनले थपे ।

यता, ललितपुर महानगरपालिकाले भने आफूले रेल निर्माणका लागि सधैँ सहयोग नै गरेको बताएको छ । महानगरका प्रवक्ता राजु महर्जनले रातो मछिन्द्रनाथको रुट निकै सानो भएकाले त्यो बाहेक अन्य क्षेत्रबाट रेल लान कहिल्यै नरोकेको बताए ।

‘मछिन्द्रनाथको जात्रा कहाँ कहाँ हुन्छ त्यहाँ धार्मिक रुपमा पनि लान मिल्दैन’, उनले भने,  ‘त्यहीँबाट गर्नुपर्छ भन्ने पनि छैन त्यहाँ बाहेक अन्य क्षेत्रहरू पनि छन् । तर त्यहीँ कारणले मात्रै रोकिएको भने हैन ।’

पुल्चोकमा रथारोहण गरी सुरु हुने मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा सकिन्छ । 

उनले ललितपुर महानगर आफैंले सम्भाव्यता अध्ययन गरेको दाबी गरे । ग्वार्कोबाट सिधा गोदावरी जाने गरेर सम्भाव्यता अध्ययन गरेको महर्जनले बताए ।​ काठमाडौँले सम्भाव्यता अध्ययन नगर्दा यो काम रोकिएको उनले जानकारी दिए ।

 विभागका एक इन्जिनियरले मेट्रो रेल सपना लगभग समाप्त भएको बताए । ‘राजनीतिक दलहरूले चासो देखाए मात्रै हो नत्र यो लगभग सकियो’, उनले भने । 

मेट्रो रेलका लागि पहिलो लाइन सातदोबाटो–पुलचोक–त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुने व्यवस्था थियो । 

दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तीनकुने हुँदै एयरपोर्टसम्म हुने व्यवस्था थियो । तेस्रो लाइनमा चल्ने रेलका लिक चक्रपथ वरिपरि निर्माण हुने व्यवस्था थियो ।

चौथो नम्बरको अन्डरग्राउन्डमा चल्ने रेलका लागि स्वयम्भू–छाउनी–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–गौशला–चाबहिल हुँदै बौद्धसम्म लिक निर्माण गरिने व्यवस्था थियो । 

पाँचौँका लागि धोबीघाट–पुल्चोक–पाटन दरबार– नयाँ बानेश्वर– माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँबजार हुँदै गोंगबुसम्मको लिक निर्माण गरिने योजना थियो ।

र, यो पनि​

‘रेल विभाग ड्राइभरविनाको बस जस्तै’ [फोटो/भिडियोसहित]

१३ वर्षमा रेल विभागमा नौ महानिर्देशक, १०औँ को पर्खाइमा

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल


Author

थप समाचार
x