अर्थ / बाणिज्य

उत्तरी तातोपानी नाकाबाट आउँदो साता नेपाली ट्रक कन्टेनर सामान लोड गर्न खासा जाँदै

इकागज |
असार १, २०८१ शनिबार १९:५० बजे

सिन्धुपाल्चोक- नेपालका ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लि. आउँदो सातादेखि नेपाली कन्टेनर खासा पठाउने भएको छ । शुक्रबार व्यवसायीहरूको तातोपानी भन्सार कार्यालयमा बसेको छलफलमा खासा गाडी पठाउन पहल गर्ने निर्णय गरेका हुन् ।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लि.ले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीहरूले भूकम्प अगाडि जसरी नै नेपाली कन्टेनर खासा पठाउनु पर्नेमा जोड दिए । नाका खुलेको ५ वर्ष भइसकेको छ, आयात निर्यातमा वृद्धि भएको छैन त्यसैले अब नाकालाई व्यवस्थापन गरेर संचालन गर्नुपर्ने उनीहरूको धारणा छ ।


व्यवसायीहरूको छाता संगठन नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेले नाकामा सहज तरिकाले आयात तथा निर्यात हुनुपर्ने र खासाबाट सिधै नेपालको भन्सार कार्यालयसम्म सामान आउनु पर्ने धारणा राखे । उनले भने, 'खासामा गाडी पठाउनेबारे छलफल हुनु राम्रो कुरा हो, तर सबै क्षेत्र र नेपाल सरकार पहल गरे सम्भावना रहेको छ ।' सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत भन्छन्, 'नाकालाई व्यवस्थित तरिकाले संचालनमा ल्याउनु पर्छ । अहिले  हुक एन्ड ड्रपको माध्यमबाट जति सामान आएको हो यसलाई परिवर्तन गरेर कि त खासाबाट चिनियाँ पक्षले नेपालको भन्सार सम्म ल्याउनु पर्छ । होइन भने नेपाली ट्रक कन्टेनर खासा पुगेर सामान लोड गर्न वातावरण सबै निकायले गर्नुपर्छ ।' अहिले यस नाकालाई व्यवस्थित गर्नु पर्ने र सडक संजालदेखि सबै पूर्वाधारलाई सुधार गर्न समेत आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

उत्तरी नाकाबाट सामान आयात गर्ने व्यवसायीहरू भन्छन्, 'सबैभन्दा छिटो र छोटो यो नाकालाई सरकारले समेत व्यवस्थापन गर्नुपर्छ । हामी निजी क्षेत्रले मात्रै केही गर्न सक्दैनौं ।' यस्तै नेपाल ट्रक कन्टेनर ढुवानी सेवाले सबै मिलेर यस नाकाबाट हुने आयातलाई सहज बनाउन आवश्यक रहेको बताउँछ ।

नेपाली कन्टेनर सिगार्चेसम्म लैजान पाउने र चिनियाँ पक्षले नेपाली कन्टेनर ४० फुटे र अन्य कन्टेनरलाई खासा बोलाइरहेको सिल्क ट्रान्सपोर्टले बतायो ।' आफूहरू उता नगए आयातमा गाह्रो हुने ट्रान्सपोर्टको भनाइ छ । सिल्क ट्रान्सपोर्टले तातोपानीबाट विगत ५ वर्षदेखि सामान ढुवानी गर्दै आइरहेको छ । 'हामीले केही महिनाभित्र आफ्नो कन्टेनर लिएर खासा प्रवेश गर्छौं,' सिल्क ट्रान्सपोर्टले भन्यो ।

चिनियाँ पक्षले नेपाली व्यवसायीलाई सही सूचना नदिँदा व्यापारीहरू अलमलमा परेका छन् । नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लि.का अध्यक्ष अर्जुन सापकोटाले पारीबाट चिनियाँ अधिकारीले गाडी ल्याउन भन्दै खबर गरेको बताए । तर, नेपाल सरकारले यसलाई ध्यान नदिँदा व्यवसायीहरू अप्ठ्यारोमा परेको उनको तर्क छ ।

अहिले खासाबाट चिनियाँ पक्षले कन्टेनर मितेरी पुलसम्म ल्याएर छोडिदिने र त्यहाँबाट नेपालले हुक एन्ड ड्रपको सिस्टमले तानेर ल्याउने गरेको छ । यसलाई अन्त्य गर्दै नेपाली कन्टेनर खासा जानुपर्ने सापकोटाले बताए । अहिलेसम्म आयातमा बढ्दै गए पनि निर्यात भने खासै भएको छैन । अहिलेसम्म एक कन्टेनर चाउचाउ र १३ कन्टेनर बाँसका मुडा निर्यात भएको तातोपानी भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । तातोपानी नाकाबाट यस वर्ष लक्ष्यभन्दा झन्डै ४ अर्ब राजस्व उठेको नाकामा सडक संजालमा भने जोखिम बढ्दै गएको छ ।


Author

थप समाचार
x