अर्थ / बाणिज्य

विश्व बैंकको लगानीका ९८२ अक्सिजन कन्सन्ट्रेटर्स नेपाल आइपुग्यो

इकागज |
असार ५, २०७८ शनिबार १८:४७ बजे

काठमाडौँ : नेपालले १० लिटरका ९८२ अक्सिजन कन्सन्ट्रेटर्स  प्राप्त गरेको छ । यी अक्सिजन कन्सन्ट्रेटर्स विश्व बैंकको लगानीबाट प्राप्त भएका हुन् । नेपालमा स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै अक्सिजन थेरापीमा प्रयोगका लागि ल्याइएका यी अक्सिजन कन्सन्ट्रेटर्स कोभिड–१९ विरुद्धको सुदृढ प्रतिकार्य हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले तत्कालीन परिस्थितिमा अत्याधिक महत्वपूर्ण अक्सिजन कन्सन्ट्रेटर्स प्राप्त भएकोमा खुसी व्यक्त गर्दै यिनीहरू सातै प्रदेशमा आवश्यकता अनुसार वितरण गरिने बताए । 


‘सरकारले स्वास्थ्य संस्थामा मेडिकल अक्सिजनको उपलब्धता बढाउँदै लगेको छ, अब सबै नेपालीले आवश्यक परेको खण्डमा अक्सिजन प्राप्त गर्न सक्छन्,’ मन्त्री तामाङले भने ।

अक्सिजन कन्सन्ट्रेटर्स परियोजना सेवाका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयले खरिद गरेको हो भने यसमा लगानी विश्व बैंकको रहेको छ । विश्व बैंकले कोभिड–१९ आपतकालीन प्रतिकार्य अन्तर्गत सहयोग प्रदान गरेको हो । संयुक्त राष्ट्रसंघीय कार्यालयले पनि यससँगै सातओटा अक्सिजन कन्सन्ट्रेटर्स खरिद गरेको छ । 

अक्सिजन कन्सन्ट्रेटर्स जडान र सञ्चालनमा ल्याएर संयुक्त राष्ट्रसंघीय कार्यालयले तोकिएका स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गर्नेछ । सबै प्रादेशिक अस्पतालमा पालैपालो आगामी ६ देखि १५ साताभित्र अक्सिजन कन्सन्ट्रेटर्स जडान भैसक्ने बताइएको छ । 

कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी परियोजना अन्तर्गत प्राथमिकतामा रहेका नेपाली नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप खरिद कार्य पनि अघि बढाइएको छ । कोभिड–१९ विरुद्ध सुदृढ प्रतिकार्य, समदायिक सहकार्यमा जोखिम न्यूनीकरण र विद्यमान डिजिटल प्रविधिमा आधारित महामारीको तथ्यांक, सुपरिवेक्षण र अनुगमन बढाइएको छ । 

विश्व बैंकले महामारी विरुद्ध लड्न, खोप खरिदका लागि नेपाललाई १० करोड ४० लाख अमेरिकी डलर उपलब्ध गराएको छ । विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले संकटको समयमा नेपालीको जीवन रक्षाका लागि सरकारसँग मिलेर जोखिम र क्षति न्यूनीकरणमा काम गरेको धारणा व्यक्त गरेको विश्व बैंक क्षेत्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 


Author

थप समाचार
x