अर्थ / बाणिज्य

स्रोत नखुलेको १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय गौर भन्सारबाटै फरार

इकागज |
असार ७, २०८१ शुक्रबार १०:३९ बजे

फाइल फोटो

रौतहट - सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले ती भारतीय युवकलाई स्रोत नखुलेको रकम सहित बिहीबार पक्राउ गरेको थियो । 

उनलाई रकम सहित गौर भन्सारमा बुझाउने क्रममा पिसाब फेर्ने बहानामा भन्सार कार्यालयको पश्चिम गेट हुँदै भारत तर्फ भागेका थिए । सशस्त्र प्रहरी बल रौतहटले भने बिहीबार साँझ आफूहरूलाई छक्याएर फरार भएका दाबी गरेको छ । 


 सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रूपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नेवाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका–७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापरबाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएका बताइएको छ । 

उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए । त्यसै क्रममा उनी फरार भएका सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । यो घटनाबारे सशस्त्र प्रहरी बलको ११ नम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए । 

फरार भएका गजेन्द्र हुन्डी कारोबारीको भरिया भएको अनुमान गरिएको छ । रौतहटको विभिन्न नाका भएर भरिया मार्फत सीमामा तैनाथ सशस्त्र प्रहरी र जनपथ प्रहरीको मिलेमतोमा हुन्डी कारोबारीले पैसा नेपाल भित्र्याउने गरेको समाचार स्रोतको दाबी रहेको छ । 

 


Author

थप समाचार
x