अर्थ / बाणिज्य

१५ अर्बको चिया, अलैंची र अदुवा निर्यात

इकागज |
साउन ८, २०८१ मंगलबार १२:३७ बजे

फाइल फोटो

झापा - पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैंची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा  १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा  काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवले बताए । यो नाकाबाट सबैभन्दा धेरै अलैंची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ ।  सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ । 


आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर ६ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैंची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव २०८०/८१ मा काँकडभिट्टाबाट रु. ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए । 


Author

थप समाचार
x