अर्थ / बाणिज्य

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

इकागज |
साउन १२, २०८१ शनिबार १६:१७ बजे

फाइल फाेटाे

काठमाडौँ - गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ ।

 गत आवमा स्मार्टफोन आयातमा मात्र रु २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयात सरकारले रु पाँच अर्ब ३३ करोड ९४ लाख बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्यांकबाट देखिन्छ । गत आवमा  एक अर्ब ४२ करोड ९० लाख ८५ हजार बराबरको १७ लाख ५८ हजार छ सय ९० सेट टेलिफोन आयात भएका छन् ।


 त्यस्तै, हेडफोन आयातमा मात्र ६५ करोड ९३ लाख २८ हजार विदेशिएको छ । एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड नौ लाख २३ हजार भन्सार राजस्व संकलन गरेको छ । 

 गत आवमा मोबाइल ५० करोड ७१ लाख ६३ हजार बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ । चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार राजस्व संकलन भएको छ । गत आवमा ३५  करोड ५१ लाख ४८ हजार बराबरको दुई लाख ३९ हजार ६ सय ६९ वटा स्मार्टवाच आयात भएको छ ।


Author

थप समाचार
x